टर्कीमा बाक्लो हिउँ र बर्षाका कारण भूकम्पमा परेकाहरुको उद्धारमा कठिनाई

टर्कीमा बाक्लो हिउँ र बर्षाका कारण भूकम्पमा परेकाहरुको उद्धारमा कठिनाई

केन्द्रबिन्दु
0
Shares

टर्कीमा निरन्तर परिरहेको हिउँ र बर्षाका कारण भूकम्पमा परी घाइते भएकाहरुको उद्धारमा कठिनाई भएको छ ।

सोमवार गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी हराएकाहरु जीवितै उद्धार गर्न हिउँ र बर्षाका कारण थप कठिनाई भएको हो । यद्धपी, टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको बताएका छन् । टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको गृहमन्त्री सोयलुको भनाई छ ।

भूकम्पमा सहयोग गर्न आएका बिदेशी उद्धारकर्तासँग पनि समन्वय गरी खोजी कार्य जारी राखेको जनाइएको छ । टर्की सरकारले पराकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरू नबस्न आग्रह गरेको छ । उनीहरुलाई खाली चौरमा बसेर नजिक रहेका फेला परेका कपडाहरुले हिउँ र बर्षाको सामना गर्न अनुरोध गरेको छ । सिरिया र टर्कीमा आएको भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या करिब ८ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले यो संख्या झन्डै २० हजार हुने अनुमान गरेर खोजी र उद्धार कार्यमा जोड दिएको छ । सम्भावित महामारीका लागि विश्व स्वास्थ्य संगठनले टर्कीस र सिरियाको सरकारसँग समन्वय गरेर औषधिजन्य तथा अन्य उपायहरुमा काम गरिरहेको जनाएको छ । यो शताब्दी कै सबैभन्दा धनजन क्षति गराएको उक्त भूकम्पका कारण सिरिया र टर्कीका लाखौं मानिस घरबार बिहिन भएका छन । 

Logo