प्रतिनिधि सभामा सांसदहरुको उपस्थितिलाई नियमित गराउनुपर्नेमा जोड

प्रतिनिधि सभामा सांसदहरुको उपस्थितिलाई नियमित गराउनुपर्नेमा जोड

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा तथा संसदीय समितिहरुको बैठकमा सांसदहरुको उपस्थितिलाई नियमित गराउनुपर्नेमा जोड दिइएको छ । 

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा संसद बैठकमा अनुपस्थितिको सूचना सम्बन्धी व्यवस्थामा धारणा राख्ने अधिकांश सांसदहरुले बैठकमा सांसदहरुको उपस्थितिलाई प्रभावकारी बनाउन दैनिक हाजिरी प्रकाशित गर्ने सम्मको व्यवस्था नियमावलीमा नै राख्नुपर्नेमा जोड दिएका हुन् । 

सांसदहरू हाजिर गरेर हिँड्ने र विधेयक पास गर्ने बेला कोरम नपुगेर कार्यसूची नै अघि बढाउन नसक्ने विगतको समस्या समाधान हुनेगरी सांसदहरूको उपस्थितिलाई प्रभावकारी बनाउनुपर्नेमा समिति सदस्यहरुले जोड दिएका हुन् । मस्यौदा समिति सदस्य सुवासचन्द्र नेम्वाङले सांसदहरुको उपस्थिति प्रत्येक बैठकमा हुनुपर्ने र प्रत्येक दिन संसद बैठकमा उपस्थित हुन् भन्ने जनताको चाहना पनि रहेको उल्लेख गर्दै यसतर्फ सांसदहरु स्वयं पनि गम्भीर हुनुपर्ने धारणा राखे । 
 
समिति सदस्य अमरेशकुमार सिंहले संसदलाई व्यवस्थित बनाउनका लागि सांसदहरुको प्रत्येक दिनको हाजिरी स्क्रिनमा देखिने गरि व्यवस्था गर्नुपर्ने बताए । उनले हरेक दिन कुन सांसद उपस्थिति भए, को भएन भन्ने सबैले थाहा पाउन सक्नेगरी ‘स्क्रिनमा डिस्प्ले’ गर्ने प्रावधान राखिनुपर्नेमा जोड दिए । सांसदहरुको जीवन सार्वजनिक हुने भन्दै उनले सांसदहरुको हरेक गतिविधि जनताले थाहा पाउनुपर्ने बताए । 

सांसदहरु देश र जनताप्रति जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।  
 
त्यसैगरी समिति सदस्य शक्ति बस्नेतले एक दिनको अनुपस्थितिलाई भुलचुक मानेर दोस्रो दिनदेखिको अनुपस्थितिलाई सूचना दिने व्यवस्था गर्दा व्यवहारिक हुनसक्ने तर्क गरे । उनले अनुपस्थित हुने कुराको अग्रिम सूचना दिने व्यवस्थालाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । 

सदस्य प्रेम सुवालले बैठकमा अनुपस्थित हुँदा अग्रिम सूचना दिने व्यवस्थाले सांसदहरु गयल नहुने भएकाले सो व्यवस्था ठिक भएको भन्दै समर्थन गरे । उनले शिर्ष नेताहरु बैठकमा धेरै गयल हुने गरेको तर्फ पनि ध्यानाकर्षण गराए । 

प्रतिनिधि सभा नियमावली मस्यौदा समिति सदस्य नागिना यादवले भने सांसदहरुको अनुपस्थितिको सूचना प्रतिनिधि सभा बैठकमा पेस गर्न नहुने धारणा राखिन् । उनले सांसदहरुलाई सभामुखले विद्यार्थी पढाएजस्तो गरी कडाई गर्ननहुने तर्क गरिन् । सांसद अनुपस्थितिको सूचना बैठकलाई जानकारी दिनु लाजमर्दो कुरा भएको टिप्पणी उनले गरिन् । 

त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेका बेला बैठकमा सांसद अनुपस्थितिको जानकारी दिँदा सांसदहरुलाई नै ‘व्याकफायर’ हुनसक्ने भन्दै गोप्य राख्नुपर्ने प्रस्ताव गरिन् । 

समिति सदस्य विद्या भट्टराईले सांसदहरुको हाजिरीको विषय सुविधासँग जोडिएर आउने भएकाले त्यस्तो हुन नदिन अनुपस्थितिको कारण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरिन् । 

सर्वेन्द्रनाथ शुक्लाले सांसदको उपस्थितिको कुरालाई नियमावलीमा जति कडाइका साथ लेखेपनि कार्यान्वयन हुन नसकेको बताए । उनले शिर्ष नेताहरु बैठकमा धेरै अनुपस्थित हुने गरेको भएपनि त्यसलाई मिलाइने गरेको बताए । सांसदहरु स्वयं जिम्मेवार नभएसम्म समस्याको समाधान नहुने उनले बताए ।  

बैठकमा बोल्ने अन्य समिति सदस्यहरुले पनि सांसदहरुको हाजिरीलाई व्यवहारिक,व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । 

Logo