अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावरले ‘डेमोक्रेटिक समिट’मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गरेकाे बताएकी छन् ।
दुईदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख समान्थाले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने सो समिटमा प्रधानमन्त्री प्रचण्डलाई आमन्त्रण गरिएको जानकारी दिएकी हुन् ।
साथै यूएसएआईडीकी प्रमुख समान्थाले यूएसएड र नेपालबीचको ७५ वर्षे सहकार्यले साँच्चिकै प्रभावकारी भएको बताएकी छन्। ‘हामी समावेशी विकासको अभ्यास गर्ने विकास साझेदार हौं,’ उनले भनिन्, ‘विदेशी लगानी समावेशी विकास प्राप्तिको माध्यम हुनुपर्छ, यूएस एडको सहायताले नेपालले पर्याप्त सुधार हासिल गर्न सघाएको छ। नेपालको उत्थान हामीले दायित्व मानेका छौं र थप योगदानको अवसर खोजिरहेका छौं।’
उनले नेपालमा अमेरिकाले गर्ने सहयोगमा भूराजनीतिक आयाम नरहेको पनि स्पष्ट पारेकी छन् । ‘अमेरिकाले नेपालमा गर्ने लगानीको कुनै भूराजनीतिक आयामको उत्पादन होइन । नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो । यो देशको जनताको कल्याणका लागि दसकौंदेखि गर्दै आएको कामले पनि प्रमाणित गरेको छ ।’ उनले भनिन् ।
साेमबार मात्र यूएसएआईडीकी प्रमुख समान्थाले नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरिसकेकी छन् । सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको बताइएकाे छ ।





























प्रतिक्रिया