एमालेले संगठन सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने

एमालेले संगठन सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले संगठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । 

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ‘मिसन ग्रासरुट’ नाम दिईएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए । सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनको भनाई छ । 

केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे । सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए । 

साथै बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । त्यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी डा. विन्दा पाण्डेलाई दिएको छ । त्यसैगरी पार्टीको अपांगता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । 

Logo