सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणमा सबै दलसँग सहकार्य आवश्यक भएको बताएकी छन् । नारायणपुर उद्योग वाणिज्य सङ्घ दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले विकास निर्माण कुनै दल विशेषको नहुने भन्दै त्यसका लागि स्थानीय तहसँगको सहकार्य आवश्यक रहेको बताइन् ।
गृह जिल्ला दाङ पुगेकी मन्त्री शर्माको स्वागत तथा सम्मानका लागि सोमबार बिहान कार्यक्रम आयोजना गरिएको थियो । उनले विकास निर्माणको नेतृत्व आफूले गर्ने भन्दै त्यसका लागि आम जनतालाई सहयोग गर्न पनि आग्रह गरिन् । मन्त्री शर्माले लामो समयदेखि घोराही–तुलसीपुर निमार्णाधिन चार लेन सडक अलपत्र रहेको भन्दै त्यसलाई अगाडि बढाउन अर्थमन्त्रीसँग छलफल भएको पनि जानकारी दिइन् ।
आठ पटकसम्म ठेकेदार परिवर्तन हुँदा पनि सडक निर्माणले गति नलिएको भन्दै उनले सरकारले बजेट सुनिश्चित गरी ठेक्का सम्झौता तोड्ने तयारी गरेको उल्लेख गरिन् । सञ्चार मन्त्रालय देशको राष्ट्रियतासँग जोडिने मन्त्रालय भएपनि आफ्नो मन्त्रालयलाई नागरिकसँग कसरी जोड्न सकिन्छ भनेर ध्यान दिएको उनले बताइन् ।





























प्रतिक्रिया