आईसीसी विश्वकप क्रिकेट लिग–२को त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ। नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ। नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित नामिबिया दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो।
लिगमा नेपाल २६ खेलबाट १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ। शीर्ष तीनमा पर्न बाँकी नेपालले बाँकी सबै १० खेल जित्नुपर्ने हुन्छ। यस्तै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ७ खेल जित्नुपर्ने हुन्छ। उता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ। शीर्ष तीनमा रहँदै सोझै ग्लोबल छनोट खेल्न नामिबियालाई बाँकी खेल जित्नुपर्ने दबाब छ।
लिग–२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग–२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।
लिग–२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग–२ मा आफ्ना १० खेल खेल्न बाँकी छदा २६ खेलबाट २२ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ। लिग–२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।
लिग–२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।





























प्रतिक्रिया