२०७४ साल फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल यही फागुन २९ गतेबाट सकिँदैछ। २०६३ मा व्यवस्थापिका–संसद्बाट राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेन्टी गराउने कानुनी व्यवस्था भयो । त्यसको अगुवाइ गरेकी एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी नौ वर्षपछि २०७२ कात्तिकमा मुलुकको पहिलो महिला राष्ट्रपति हुने अवसर पाइन् । तर पहिलो र दोश्रो गरी आफ्नो सात वर्षे कार्यकाल राष्ट्रपति भण्डारीको कैयौं क्रियाकलाप विवादित भएका छन् । हेरौं, उनको ७ वर्षे कार्यकालका चर्चित १० विवाद-
१.सेनाका जवानलाई जुत्ता
पहिलो कार्यकालकै बेला २०७३ कात्तिक ६ मा राष्ट्रपति विद्यादेवी भण्डारी धार्मिक दर्शनका लागि सप्तरीस्थित छिन्नमस्ता भगवतीको मन्दिर पुगेकी थिइन् । त्यहीँ उनको तथा उनका दुई छोरीहरु उषाकिरण र निशाकुसुमका जुता र चप्पल सेनाका जवानले बोकेको फोटो सार्वजनिक भयो। यो घटनाले सामाजिक सञ्जालमा उनको निकै आलोचना भयो ।
२.‘बम प्रुफ’ भवन
२०७३ को माघमा राष्ट्रपति अत्याधुनिक भवनमा सरेकी थिइन्। राष्ट्रपतिको लागि बनाइएको ‘बम प्रुफ’ घर ६२ करोड लागतमा बनेको थियो । शितल निवासको एक सय आठ रोपनी जग्गामध्ये उनको लागि बनाइएको भवन २० रोपनीमा फैलिएको छ। भूकम्प पीडित जनताले सामान्य झुप्रोमा जाडो र वर्षा काटिरहनुपरेको यथार्थका बीच राष्ट्रपति भने ’बम प्रुफ’ घरमा बस्न थालेपछि आलोचना भएको थियो ।
३.मुद्दा नै चलाउन नमिल्ने व्यवस्था
राष्ट्रपति तथा उपराष्ट्रपतिले पदीय काम कारबाहीबारे अदालतमा मुद्दा चलाउन नपाइने व्यवस्था भएको कानुन पनि विवादमा परेको थियो । उक्त कानुन तत्कालीन संसदबाट ०७४ असोज ३ गते पारित भई सोही महिनाको २७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको व्यवस्था भए पनि नेपालमा भने पूर्व राजपरिवारले पाएको विशेषाधिकारसँग जोडेर आलोचना गरियो ।
४. पदमुक्त प्रधानन्यायाधीशसँग सपथ
प्रधानन्यायधीशबाट बर्खास्तमा परेका विवादित प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग राष्ट्रपतिले लिएको सपथ विवादमा परेको थियो। ०७४ फागुन २९ मा राष्ट्रपतिमा निर्वाचित राष्ट्रपति भण्डारीले ३० फागुनमा पराजुलीसँग सपथ लिएकी थिइन्।
५.विलासी गाडी
२०७५ मंसिर मा राष्ट्रपतिको लागि ‘विलासी’ गाडी खरिद गरिने भएपछि उनको चर्को आलोचना भयो । उक्त विलासी गाडीको लागि १८ करोड खर्च हुने समाचार सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो ।
६.राष्ट्रपति कार्यालय ‘पार्टी प्यालेस’
२०७३ माघ ३ मा भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको राष्ट्रपति निवासबाट बिहे भएको थियो । राष्ट्रपति कार्यालयबाट छोरीको बिहे गरिएको घटनामा आम सर्वसाधारणले असन्तुष्टि जनाएका थिए। सर्वोच्च पदमा आसिन व्यक्तिले आफ्नो कार्यकक्षलाई ‘पार्टी प्यालेस’मा रुपान्तरण गरिएको भनी आलोचना भएको थियो।
७.संसद् विघटनमा सहयोगी
राष्ट्रपति भण्डारीमाथि लाग्ने सबैभन्दा ठूलो आरोप हो- संसद् विघटन । ५ पुस २०७७ मा प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको सिफारिस राष्ट्रपति भण्डारीसमक्ष पेस गरे । तत्कालै उनले सदर गरिन् । उनीमाथि संविधानको रक्षा गर्ने प्रतिबद्धता उल्लंघन गरेको आरोप मात्रै लागेन, ओली र एमालेको पक्ष लिएको आरोपसमेत लाग्यो ।
८.अध्यादेशमा आफूखुसी
राष्ट्रपति भण्डारीलाई लाग्ने अर्को आरोप अध्यादेश स्वीकृतमा आफूखुसी गरेको भन्ने छ । जेठ दोस्रो साता २०७७ मा प्रधानमन्त्री केपी ओलीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल स्वीकृत भएको थियो । अध्यादेश सदर गरेकी भण्डारीले त्यस्तै प्रावधानसहितको नागरिकता विधेयक संसद्ले प्रमाणीकरणका लागि पठाउँदा फिर्ता पठाएकी थिइन् । यो राजनीतिक वृत्तको सबैभन्दा विवादित घटना हो ।
९.सांसद् शपथबिनै ओलीलाई प्रधानमन्त्री नियुक्त
३ फागुन २०७४ मा राष्ट्रपति भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिन् । चुनाव सकिएको दुुई महिनासम्म निर्वाचन आयोगले नतिजा नबुझाएका कारण नियुक्तिमा ढिलाइ भएको थियो । संसद् अधिवेशन बोलाउनसमेत ढिलाइ भएका कारण सांसदहरूले शपथ नै लिएका थिएनन् । आयोगले प्रतिवेदन बुझाएको भोलिपल्टै ओली प्रधानमन्त्री नियुक्त भएका थिए । त्यो विषय पनि विवादमा तानिएको थियो ।
१०. सवारीको सकस
गत माघ २७ गते राष्ट्रपति भण्डारीले संघीय संसद्मा बिदाइ सम्बोधन गरिन्। सम्बोधनका क्रममा उनले विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुन आह्वान गरिन्। त्यही साँझ उनको सवारीका क्रममा ट्रमा सेन्टरका डाक्टर कुटिएपछि उनको आलोचना भयो ।कार्यकाल अवधिभर सवारीका क्रममा आम नागरिकले सास्ती पाएको भन्दै उनी आलोचित भइरहिन् । जाँदाजाँदैको संसद् सम्बोधनका दिन वीर अस्पताल अगाडि ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहमाथि कुटपिट भयो। चिकित्सकहरू आन्दोलित नै भए, सडकमा उत्रिएर प्रदर्शन गरे। चिकित्सक संघले अस्पतालमा सेवा नै ठप्प पार्यो ।





























प्रतिक्रिया