प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइसिसी विश्वकप लिग -२का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
बिहीबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै उनले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”
प्रधानमन्त्री प्रचण्डले थपे, “तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।”
“पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” उनले भने, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ।”
“सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधै तपाईहरूको साथमा छु। खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु” प्रधानमन्त्रीले भने, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ।”
सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे ।





























प्रतिक्रिया