सरकारले कोरोनाबिरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ ।
गत सोमवार कोरोना भाइरस संक्रममणबिरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोवल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।
सञ्चारकर्मीसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ बिरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य शुरु भएको पनि बताए । उनले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताए ।
सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरुमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरु उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम शुरु भइसकेको बताए । उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोपकेन्द्र गए सहजै खोप लगाउन सक्ने बताए । खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरुलाई खोप लगाइदिन उनले आग्रहसमेत गरे ।
आजबाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन शुरु गरिएको छ ।
सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाबिरुद्धको खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसावले प्रयोग गर्न मिल्ने बताए । उनले यो खोप विगतमा जुनसुकै खोप लगाएको भएपनि बुस्टरमात्राका रुपमा लगाउन मिल्ने बताए ।





























प्रतिक्रिया