राप्रपाका मन्त्रीले आज राजीनामा बुझाउँदै

राप्रपाका मन्त्रीले आज राजीनामा बुझाउँदै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेसँगै उनीहरुले राजीनामा दिन लागेका हुन् । महामन्त्री धवलशमशेर जबराले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकारमा सहभागी संघ र प्रदेशका मन्त्रीले आजै राजीनामा बुझाउने जानकारी दिए । गत पुस १० गते बनेको नयाँ गठबन्धनमा सहभागी भएको राप्रपा माघ ३ गते अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो ।

राप्रपाबाट उपप्रधान तथा ऊर्जामा राजेन्द्र लिङ्देन, कानूनमा ध्रुवबहादुर प्रधान र शहरी विकासमा विक्रम पाण्डे मन्त्री छन् । दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री छन् । यस्तै, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबार साँझ बालुवाटारमा बसेको माओवादी केन्द्रसहितको बैठकले आठदलीय गठबन्धन बनाउने निर्णय गरेसँगै राप्रपा सरकारबाट बाहिरिएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन।

Logo