काँग्रेसमा नेतृत्व परिवर्तनको बहस: किन आक्रोशित छन् पौडेल पक्ष ?

काँग्रेसमा नेतृत्व परिवर्तनको बहस: किन आक्रोशित छन् पौडेल पक्ष ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र यतिबेला नेतृत्व परिवर्तनको बहश चलेको छ । आशन्न १४ औं महाधिवेशनको तयारीमा अहिले शीर्ष नेतादेखि वडास्तरका कार्यकर्तासम्म सबैले चासो दिएका छन् र तयारी पनि गरिरहेका छन् । वडादेखि केन्द्रसम्म नै बलियो नेतृत्वको आवश्यकता देखिएको काँग्रेसमा भावि सभापति को होला भनेर चासो रहनु स्वभाविक हो । वर्तमान सभापति शेरबहादुर देउवाले सहि नेतृत्व गर्न नसकेको भन्दै ०७४ को निर्वाचनमा भएको पराजयपछि नै नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग उठेकै हो तर काँग्रेसको पराजय नेतृत्व कमजोर भएर नभई दुई ठूला कम्युनिष्ट पार्टीमा भएको एकताले भएको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशनको मुद्दा सेलायो । उता सभापति देउवाले चुनावमा हारजित स्वभाविक रहेको बताउँदै आफ्नो बचाउ गरिरहे ।

काँग्रेसमा गुट उपगुटको राजनीति मौलाएको छ र यो आजको मात्र समस्या होइन । तत्कालिन सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै समयमा पनि कोइराला पक्ष र देउवा पक्षका छुट्टाछुट्टै गुटहरु नभएका होइनन् । कोइरालाको निधनपछि पनि संस्थापन पक्ष र संस्थापनइतर पक्ष भन्दै गुटहरु बनाइए । यतिबेला पनि स्पष्टरुपमै देउवा पक्ष, पौडेल पक्ष र सिटौला पक्ष भनेर अलग अलग गुटहरु बनेका छन् । यी गुटहरु मध्ये नेतृत्वमा आउन ३ मध्ये २ समुह जता ढल्किन्छ उसकै पहुँच बढ्ने निश्चित छ ।

एकातिर यस्तो समीकरण देखिन्छ भने अर्कातिर शीर्ष नेताहरु खुलेरै पार्टी सभापति देउवाको नेतृत्व असक्षम भएको भन्दै आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् । साउन १४ गते काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवाकै कारण काँग्रेसको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाए । उनले आगामी महाधिवेशनमा अब नेतृत्व परिवर्तनको विकल्प नभएको पनि बताए । तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका देउवाले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहको आरोप थियो । पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठ्यारो अवस्थामा पुगेको उनको भनाइ थियो ।

नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्रको रक्षाका लागि गर्नु पर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताउँदै पार्टी प्रजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गरे । महाधिवेशनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उनले बताए । पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भए पनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकोे सिंहको भनाइ थियो ।

सिंहको यो अभिव्यक्ति कति सत्य हो त्यो आम कार्यकर्ता र नेताहरुले महसुस गर्लान् नै, उता पौडेल पक्षले पनि देउवाले गर्दै आएका काम प्रति असन्तुष्टि जनाउँदै खुलेरै विरोध गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । साउन १४ गते नै पार्टी कार्यालयमा भेला भएका पौडेल समूहका नेताहरुले विधान विपरित विभाग गठनको काम नगर्न आग्रह गरेका हुन् । पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरुले आग्रह गरे । वरिष्ठ नेता पौडेलले आफूले सभापति देउवालाई भेटेरै पछिल्ला काम र क्रियाकलापप्रति लिखित रुपमै असन्तुष्टि राखेको बताए ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि आचारसंहिता लागू भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरित भएको बताएका छन् । महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णय विरुद्ध अझ सशक्त भएर अगाडि बढ्न बैठक बोलाइएको उनले बताए । आगामी महाधिवेशनमा आफू सभापतिको दावेदार भएको बताउँदैै कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाएका थिए । महाधिवेशन भएको ४ वर्षसम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उनले प्रश्न समेत गरे ।

यस्तै केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि विधान विपरित अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताएका थिए । यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन् भनेर सभापति देउवालाई पत्र पठाइएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको बताएका थिए । कसलाई के पद दिने भन्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको भण्डारीको तर्क थियो ।

नेताहरुका उल्लेखित भनाइहरु हेर्दा सरासर अनुमान लगाउन सकिन्छ कि काँग्रेसभित्र अब नेतृत्व परिवर्तनको बहश राम्रैसँग उठेको छ । तर वर्तमान सभापति देउवाले सजिलै नेतृत्व अरुमा दिने संकेत भने दिएका छैनन् । उनले आफू अर्को कार्यकालका लागि पनि पुनः सभापतिमा लड्ने यस अघि नै बताइसकेका छन् । यसकै तयारी स्वरुप देउवा पनि आफ्नो शक्ति थप मजबुत बनाउन सक्रिय भएका छन् । हालै उनले पार्टीको महिला विभागलाई पूर्णता दिएका छन् भने अन्य विभागहरुमा पनि आफूखुशी आफ्नो प्यानलका नेताहरुलाई नियुक्त गरिरहेका छन् । हालै मात्र देउवाले पार्टी हित विपरित लागेको, बागी उमेदवारी दिएको लगायतका आरोप लगाउँदै पूर्वमन्त्री गोविन्दराज जोशी लगायत ३ जनालाई कारबाही गर्ने निर्णय समेत गरिसकेका छन् । महाधिवेशनका मुखमा आएर गरिएका यस किसिमका क्रियाकलाप रोक्नु पर्ने भन्दै पक्ष र विपक्षमा नेताहरुका चर्का आवाज पनि अहिले सतहमा आएका छन् ।

यसरी हेर्दा काँग्रेसभित्र पनि विभिन्न आन्तरिक कलह देखिन्छ । हुन त नेपालका कुनै राजनीतिक दल छैनन् जसमा आन्तरिक कलह नभएको होस् , गुट उपगुट नभएको होस् । यो रोग काँग्रेसमा पनि स्पष्टरुपमा देखिएसँगै कार्यकर्तामा पनि निराशा पैदा भएको छ । उनीहरुको अपेक्षा यो छ कि पार्टीमा आगामी दिनमा यस्तो नेतृत्व आओस्, जो बलियो होस् । भलै प्रतिपक्षमा रहनु परे पनि बलियो प्रतिपक्षको भूमिका निभाउन सक्ने होस् । आन्तरिक विवाद मिलाउँदै पार्टीलाई बलियो बनाओस् । आगामी निर्वाचनमा सुधार गर्दै तल्लोस्तरसम्म आफ्नो विरासत जोगाउन सक्ने होस् । तर कार्यकर्ता र शुभचिन्तकहरुको यो अपेक्षा पूरा होला वा नहोला त्यो त आगामी दिनमा थाहा होला नै । तर यो चाहिं पक्कै हो कि अब काँग्रेसमा जरैदेखि सुधार जरुरी छ । नागरिकमा परेको कमजोर पार्टीको भ्रम चिर्न काँग्रेसले आगामी महाधिवेशनमा रचनात्मक भूमिका निभाउनु जरुरी छ ।

र याे पनि :

Logo