ओडिआईमा पहिलोपटक नेपालको लगातार पाँचौँ जित, पपुवा न्युगिनी स्तब्ध

ओडिआईमा पहिलोपटक नेपालको लगातार पाँचौँ जित, पपुवा न्युगिनी स्तब्ध

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत लगातार पाँचौँ जित हात पारेको छ । सोमबार युएईमा भएको सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीमाथि नेपालले ४ विकेटको जित दर्ता गरेको हो । 

पपुवा न्युगिनीले जितका लागि दिएको २०४ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । उनी ६९ बलमा ५६ रन जोडेर आउट भए । साथै अर्का ओपनर आशिफ शेख ४४ रन, आरिफ शेख ३३ रन, दीपेन्द्रसिंह ऐरीले २२ रन तथा कप्तान रोहितकुमार पौडेलले २० रन जोडे । 

बलिङतर्फ पपुवा न्युगिनीका कप्तान असाद भालाले ३ विकेट लिए भने नर्मन भनुआ र सेसे बाउको नाममा एकएक विकेट रह्यो ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रनको योगफल बनाएको थियो । 

पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६ रन बनाए भने कप्तान असाद भालाले ३६, सेसे बाउले ३१, किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

नेपालका लागि गुल्सन झाले ३ विके लिए भने कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए ।  

योसँगै नेपालले ओडिआई क्रिकेटमा पहिलो पटक लगातार पाँच जित हात पारेको छ । नेपालले यसै साता च्याम्पियन स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेको थियो ।

लिग २ मा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । नेपाललाई शीर्ष तीनमा रहँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न अब बाँकी रहेका ७ खेलमध्ये ६ खेल जित्नुपर्ने हुन्छ । 

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंकका साथ पुछारमा छ । पपुवा न्युगिनीले पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भई सकेको छ । 

Logo