स्ववियु निर्वाचन प्रक्रिया सुरु, सङ्गठन दर्ताको समय आजसम्म

स्ववियु निर्वाचन प्रक्रिया सुरु, सङ्गठन दर्ताको समय आजसम्म

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया शुक्रबारबाट सुरु हुँदैछ।

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ। आउँदो चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ।

विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले फागुन १९ गते अपराह्न ३ बजेभित्रमा दर्ता गर्नुपर्नेछ । फागुन २१ गते निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ। उक्त नामावलीउपर फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर सोही दिनको साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने निर्देशनालयका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए। उनका अनुसार फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ।

फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्रको नामावली दाखिला हुनेछ। सोही दिनको साँझ ५ बजेसम्ममा प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ। फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ। सोही दिनको साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख गरिएको छ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ। विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन्। त्यसपछि निर्वाचन सम्पन्न नहुँदासम्म मौन अवधि रहनेछ। मौन अवधिमा प्रचारप्रसार गरेमा कारबाही गरिने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ। निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि हुनेछ। 

Skip This
Skip This
Logo