काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हने बताएका छन् ।
पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकासबारेको छलफलमा मन्त्री भट्टराईले सांस्कृति र पर्यटनको वहुआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन तथा उनीहरुको बसाई लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
मन्त्री भट्टराईले पद्यसंभव पदमार्गको विकासका लागि चालु आबको बजेटमा समावेश गरिएको जानकारी दिंदै यसको लागि विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिएका छन् ।
उनले नेपालको सांस्कृतिक पर्यटनको हिसावले पनि बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दावी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने बताए ।
बुद्ध धर्मको प्रचार गर्ने प्रमुख गुरु आचार्य पद्यसंभवले नेपालका विभिन्न स्थलमा भ्रमण गरी विशेष गन्तब्य बनाएका थिए । यसलाई सांस्कृतिक पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सरोकारवालासँग छलफल गरी विस्तृत कार्ययोजना बनाउछौँ, नेपालको पर्यटन प्रवर्धनका लागि यो धेरै ठूलो परिकल्पना हो । यसले लाखौँ तिब्बतीयनलाई आकर्षण गर्नेछ ।
पुरातत्व विभाव, पर्यटन विकास, लुम्बिनी विकास कोष लगायत स्वतन्त्र व्यक्तिले गरेको अध्ययनलाई पनि एकतृत गरी सरोकारवालासँग थप छलफल गरी पदमार्गको विस्तृत कार्ययोजना अघि बढाइने उनको भनाई छ ।
तक्सिलामा जन्मिएका तान्त्रिक गुरु पद्यसंभव आठौँ शताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतीयन राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राडा रमेशकुमार ढुङ्गेलले पद्यसंभव पदमार्गले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा जिक्डोल, बुद्धिष्ट सर्टिकका अभियानता विक्रम पाँडे काजी लगायतले पदमार्गको अवधारणालाई महत्वपूर्ण पर्यटकीय प्रडक्टको रुपमा विकास गरिनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, फाउण्डेशनका अध्यक्ष डा सन्दुक रुइत, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी लगायतको उपस्थिति थियो ।































प्रतिक्रिया