घरेलु टोली युएईले आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध लगातार दोस्रो हार व्यहोरेको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा युएईले दिएको ९८ रनको सामान्य लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । पपुवा न्युगिनीका लागि ओपनर टोनी उराले सर्वाधिक ३५ रन जोडे । त्यस्तै, सेसे बाउले १८ रन तथा हिरी हिरी १४ रनमा आउट भए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २६.२ ओभरमा ९७ रनमा अल आउट भएको थियो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन जोडे। साथै आसिफ खानले ११ रन तथा कप्तान सीपी रिजवानले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।
युएईलाई सस्तैमा रोक्न पपुवा न्युगिनीका मध्य गतिका बलर राइली हेकुरेले पाँच विकेट लिए, जुन उनको करिअरकै उत्कृष्ट बलिङ हो । साथै चाद सोपरले ३ विकेट लिए । चार्ल्स अमिनीले १ विकेट आफ्नो नाममा गरे ।
योसँगै घरेलु टोली युएई पपुवा न्युगिनीविरुद्ध जारी सिरिजमा लगातार दोस्रोपटक पराजित भएको छ । पहिलो खेलमा युएईले पपुवा न्युगिनीविरुद्ध १३१ रनको फराकिलो हार व्यहोरेको थियो, तर नेपालविरुद्ध भने जित निकालेको थियो ।
युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । पीएनजी भने ९ अंकका साथ पुछारमा छ ।
घरेलु टोली युएईले अब सिरिजको अन्तिम खेलमा सोमबार नेपालविरुद्ध खेल्दै छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ । नेपालले अमेरिकालाई पछि पार्न अव तीन खेल जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले युएईलाई तीन मध्य एक खेल जित्नै पर्ने हुन्छ । तर, शिर्ष तीनमा पर्न भने नेपाललाई अब बाँकी खेल सबै जित्नुपर्ने हुन्छ ।





























प्रतिक्रिया