रुपन्देहीकाे सामुदायिक वनमा वन्यजन्तुलाई मार्न थापिएका पासोमा परी गाईबस्तु मर्ने क्रम बढेको छ।
जंगली जनावरको शिकार गर्न थापिएका विद्युतिय धराममा परेर धेरै छाडा चौपाया मर्ने गरेका छन् ।
तिलोत्तमा नगरपालिकाको करहिया सामुदायिक वन क्षेत्रभित्र विद्युतिय धरापमा परेर मृत्यु भएका दर्जनौ गाईका हाडखोर र शवहरु भेटिने गरेका छन् । दुई रुखका बीचमा मसिना तारहरु राखेर बन्यजन्तु मार्ने पासोहरु वनभरि छन् । यसैमा परेर मरेका गाईहरु सडेका छन् तर यसबारे सरोकारवालाहरु मौन छन् ।
तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित करहिया सामुदायिक वन उपभोक्ता समुहको फोहोर प्रशोधन तथा ज्ञान केन्द्रको सेरोफेरोमा मरेका चौपायाबाट दुर्गन्ध फैलिएको छ । खानाको खोजीमा हिडेका छाडा चौपाया वन क्षेत्रमा बदेंल मार्न प्रयोग भएको विद्युतीय धरापमा परेर मर्ने गरेको स्थानीय युवा आतिस चौधरी बताउँछन् ।
फोहोर प्रशोधन तथा ज्ञान केन्द्र वरपरको चारैतिर गाईहरु मर्दा समेत कुनै निकायहरु चासो नलिएको उनले दुखेसो गरे। ‘बन क्षेत्रभरि सिनो मात्र छ, बन पैदावार र बन्यजन्तुको संरक्षणको जिम्मेवारी बोकेका सामुदायिक बनभित्र विद्युतीय धराप राख्नु अपराध हो ।’ यस्तो कार्यमा संलग्नको खोजी गरी कारवाही हुनुपर्ने उनी बताउँछन् ।
उक्त सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डेले गुनासो बढेपछि आफुहरु वन क्षेत्रमा अनुगमन गर्ने तयारीमा रहेको बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालयको समन्वयमा वनमा हेर्न जाने तयारी रहेको उनले बताए । वनमा धेरै बदेंल रहेको र बदेंल मार्ने पासो लगाउने क्रममा गाईहरु मरेको हुनसक्ने उनले बताए ।
गौशाला बाहेक वन क्षेत्रमा ४–५ सय बढी गाईहरु रहेको उनको दाबी छ । उनले भने, ‘हामीहरु समेत संवेदनशिल भएका छौ, मिलन सामुदायिक वनमा केही समय पहिले बदेंलको धरापमा मानिसको पनि मृत्यु भएको थियो ।’





























प्रतिक्रिया