काठमाडौं । सन् १९९३ को मुम्बई सिरियल बम विस्फोट प्रकरणका मुख्य दोषी अबु सलेमको समयअगावै रिहाइ सम्बन्धी याचिकामा भारतको सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
पोर्चुगलबाट सुपुर्दगी गरी भारत ल्याइएका सलेमले २५ वर्षको कैद सजाय पूरा भइसकेको दाबी गर्दै रिहाइका लागि अदालतसमक्ष निवेदन दिएका थिए। यद्यपि, केन्द्रीय अनुसन्धान ब्युरोले भने सलेमले आफूमाथि विभिन्न मुद्दामा तोकिएको कुल १६ लाख ५१ हजार भारतीय रुपैयाँ जरिवाना अनिवार्य रूपमा बुझाउनुपर्ने कडा अडान प्रस्तुत गरेको छ।
ब्युरोका अनुसार जरिवाना रकम नबुझाए कानुनी प्रावधान बमोजिम सलेमले थप कैद (डिफल्ट सजाय) समेत भुक्तान गर्नुपर्ने हुन्छ। अदालतले दुवै पक्षको तर्क र बहस सुनेपछि आदेश सुरक्षित राखेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अबु सलेमको रिहाइ हुने वा उनले थप सजाय भोग्नुपर्ने भन्ने विषयमा सर्वोच्च अदालतको अन्तिम फैसला आउन बाँकी छ।




















