काठमाडाैँ उपत्यकामा मर्यादित बन्दै होली

काठमाडाैँ उपत्यकामा मर्यादित बन्दै होली

केन्द्रबिन्दु
0
Shares

विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । 
 
काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो ।
 
खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो । विसं २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो । कोरोनाअघि पनि यो विकृतिमा केही कमी भने आइसकेको थियो । अपवादका रुपमा भने अझै पनि केही मानिस उच्छृङ्खल गतिविधिमा संलग्न भएको देखिन्छ । त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याइने नेपाल प्रहरीले जनाएको छ ।
  
यसपटक भने कसैले पनि अरुको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाइरहेका छन् । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्तरुपमा मनाइरहेको देखिन्छ । 
 
केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । यस वर्ष भने सडकमा फागु खेल्ने प्रायः बालबालिका देखिन्छन् । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य छ । पुतलीसडक चोकमा फागु पर्व मनाइरहेका युवा रामचन्द्र श्रेष्ठ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।
  
विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रुपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुर्व्यवहार गरेको देखिएन ।

२७ हजार सुरक्षाकर्मी परिचालन    

फागुपूर्णिमाका अवसरमा देशभर सामान्य सुरक्षाका लागि बाहेक २७ हजार सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । होलीका अवसरमा अहिलेसम्म देशभर कुनै अप्रिय घटना भएको छैन । राजधानीलगायत मुख्य सहरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजधानीमा नियमित बाहेक पनि ६६ भन्दाबढी स्थानमा जाँच गरिरहेको प्रहरीले जनाएको छ ।
 
यस वर्ष विगतमाभन्दा फागु पर्व सभ्य देखिएको प्रहरी प्रवक्ता पोखरेलले बताए । अहिलेसम्म उच्छृङ्खल गतिविधि गर्ने कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छैन । सहरका भित्री भागमा फागुपूर्णिमाका अवसरमा धेरै चहलपहल छैन । होलीको चहलपहलमा उत्रनेले पनि फागुपूर्णिमाका अवसरमा अरुलाई आक्रमण गरेका छैनन् । समग्रमा फागुपूर्णिमाका अवसरमा मानिस सभ्य बन्दै गएको देखिन्छ ।

Logo