राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन् ।
मंगलवार राष्ट्रिय महिला आयोगको २१ औँ स्थापना दिवस तथा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अर्यालले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरु चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी हुन् । उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताइन् ।
नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उनले महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सिमित हुनु नहुने बताइन् ।
उपाध्यक्ष अर्यालले राज्यका निकायहरुको प्रमुख पदहरुमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरुमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताइन् । उनले महिलाहरुलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताइन् । प्रत्यक्षतर्फ महिलाहरुलाई ४० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना घट्ने र निर्वाचन प्रणालीमा शुद्धीकरण समेत हुने उनले बताइन् ।
उपाध्यक्ष अर्यालले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरुलाई पु-याउनुपर्ने बताइन् । हालसम्म राजनीतिक दलको निर्णायक तहमा महिलाहरुको भुमिका हुन नसकेको भन्दै उनले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
उनले राष्ट्रिय महिला आयोगले भुईं तहका महिलाहरुको लागि काम गर्नुपर्ने बताइन् । उनले भुईंतहका महिलाहरुलाई परेका पीर, मर्का र समस्या समाधानका लागि काम गर्न महिला आयोगलाई आग्रह गरिन् ।





























प्रतिक्रिया