प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैको सामूहिक विवेक प्रयोग गरेर मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्ने बताएका छन् ।
मुलुकमा देखा परेका आर्थिक संकट समाधानका लागि आफूले केही दिन अघि मात्रै सरोकारवालाहरुसँग छलफल सुरु गरेको र केही दिन भित्र ती समस्याहरुको समाधानको प्रक्रिया अघि बढाउने उनको भनाई थियो ।
मंगलबार सोलुखोला–दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीको रुपमा असफल हुने छुट नरहेको पनि दोहो-याए । उनले मुलुकभित्रै पेट्रोल उत्पादन छिट्टै हुने आश्वासन समेत दिए । त्यसका लागि अध्ययन र अनुसन्धानको काम धेरै अघि बढिसकेको उनको जिकीर थियो ।
प्रधानमन्त्री दाहालले विद्युत व्यापारबाटै व्यापार घाटा सन्तुलनमा ल्याउन सकिने संकेत मुलुकमा देखा परेको दावी समेत गरे । मुलुक विद्युतमा आत्मनिर्भर भएको उल्लेख गर्दै उनले त्यसलाई विक्री गर्नका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहमती गरेको स्मरण गराए । उनले आफू हाईड्रोजन गाडी चढने तयारीमा रहेको समेत बताए ।
डिजेल र पेट्रोलको विकल्पमा हाइड्रोजन गाडी चढन नेपाल विद्युत प्राधिकरणका एमडी कूलमान घिसिङले प्रधानमन्त्री बनेको बेला सल्लाह दिएको र सोही अनुसार आफूले प्रधानमन्त्री कार्यालयमा त्यसको तयारीका लागि छलफल अघि बढाएको उनले बताए ।
प्रधानमन्त्री दाहालले ग्रिन इनर्जीबाट हाइड्रोजन इनर्जीमा गएर मुलुकमा विभिन्न उद्योग, व्यवसाय संचालन गरी आर्थिक गतिविधिलाई अघि बढाउन सकिने स्पष्ट पारे ।































प्रतिक्रिया