करिव चार महिनापछि आजदेखि सञ्चालनमा आए सौराहाका होटल

करिव चार महिनापछि आजदेखि सञ्चालनमा आए सौराहाका होटल

केन्द्रबिन्दु
0
Shares

भरतपुर ।

पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चार महिनापछि सञ्चालनमा ल्याएका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचना अनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नु पर्ने सङ्घले जनाएको छ ।

यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नु पर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनु पर्ने वा सम्बन्धित निकायमा खबर गर्नु पर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नु पर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए । सरकारको निर्णय अनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको बताए ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सबै व्यवसायीले होटल सरसफाइ र व्यवस्थापन गरेको जानकारी दिए। उनले व्यवसायी होटल खोल्न पाउँदा उत्साहित भएको भन्दै आन्तरिक प्रचारप्रसारमा समेत जुटेको बताए । प्रचारप्रसार स्वरुप नै केहीदिन अघि साइकलयात्रा गरिएको थियो ।

होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । सङ्घले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायीले स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा (लजिङ) मा ५० प्रतिशत छुटको घोषणा गरेका छन् । यस्तै खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छुट दिने उनले बताए ।

यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले कोठामा ५० प्रतिशत छुट दिने जानकारी दिए । उनले खाना र पेयपदार्थमा १०÷१० प्रतिशत छुट घोषणा गरिएको बताए । सौराहाका अन्य होटल तथा रेष्टुराँले पनि छुटको प्याकेज ल्याउने तयारी गरिरहेका छन् ।

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुनेछन् । विशेष गरी जङ्गल सफारी, डुङ्गा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जङ्गल वाक हुने गर्दछ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ  ।रासस

Logo