सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ ।
सरकारले बिहीवार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद सचिवालयमा दर्ता गरेको हो । सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले सो विधेयक संसद सचिवालयमा बिहीवार(आज) दर्ता गरेको जानकारी दिए । उनले सो विधेयक संक्रमणकालिन न्यायलाई व्यवस्थापन गर्नका लागि बनेको स्पष्ट पारे ।
मन्त्रिपरिषद्को आजैको बैठकले विधेयकलाई संसदमा दर्ता गर्ने निर्णय गरेको थियो ।
सहायक प्रवक्ता धमलाले विधेयक दर्ता भएको दुईदिन भित्रमा प्रतिनिधि सभाका सबै सदस्यहरुलाई वितरण हुने जानकारी गराए । उनले विधेयक दर्ता भएको पाँच दिनपछि बस्ने जुनकुनै संसद बैठकमा पेस हुने उल्लेख गरे ।
सचिवालयमा दर्ता भएको विधेयक संसदमा अगाडी बढाउने विषय राजनीतिक विषय भएको उल्लेख गर्दै उनले सभामुखले राजनीतिक दलहरुसँग छलफल गरी आगामी दिनमा प्रतिनिधि सभाको बैठकमा पेस हुने बताए ।





























प्रतिक्रिया