नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन् ।
शुक्रवार नाै दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । उनले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताए ।
उनले संविधानको व्यवस्थाविपरित आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल नरहेको स्पष्ट पारे ।
उपसभापति खड्काले आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोलेको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताए । उनले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताए ।
उपसभापति खड्काले आज राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा बैठक बसेको बताए । उनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि आजको बैठकले गरेको बताए । गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै दलहरुको प्रमुख नेताहरुको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने उनले स्पष्ट पारे ।
उनले उपराष्ट्रपतिको उम्मेदवार दरखास्त दिने समय अगावै सर्वसम्मतिले हुने बताए ।
चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिवार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसअघि बिहीवार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन् ।





























प्रतिक्रिया