विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो हार व्यहोरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लवसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
संकटाले पुलिसमाथि सहज जित निकाल्ने क्रममा शुरुवातबाट नै दबाब दिएर खेलेको थियो । अघिल्ला दुई खेलमा पनि नतिजा सुम्पिएको पुलिसले अंक लिनका लागि खेल्ने रणनीति बनाए पनि असफल भएको हो ।
पुलिसबिरुद्ध जित निकाल्ने क्रममा संकटाका लागि १२ औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । काउन्टर गर्ने क्रममा दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले बक्स भित्रबाट चिप गोल गरेका हुन् ।
संकटाले पहिलो प्रयासमै गोल गर्न सफल भएको थियो । त्यसपछि खेल दोस्रो हाफतिर पुगेको थियो । खेलको ८० औं मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए । मनिष डांगीको प्रहार पुलिस रक्षक अञ्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट गोलमा परिणत गर्न सफल भएका थिए । त्यसको ६ मिनेट पछि संकटाले तेस्रो गोल थप्यो ।
सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए । मनिष डांगीले मिलाएको पासलाई सुरजले बक्सबाहिरबाट पहिलो प्रयासमा नै गोल गर्न सफल भएका थिए ।
यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय व्यहोरको पुलिस अंक बिहीन छ ।
यसअघि संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग गोलरहित बराबरी खेल्दा मनाङ मस्र्याङ्दी क्लवसँग १–० को पराजय व्यहोरेका थियो । उता पुलिस चर्च ब्वाइज युनाइटेसँग पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लवसँग १–० ले पराजित भएको थियो ।





























प्रतिक्रिया