काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व महामन्त्री सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेसको ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच थापा कांग्रेस प्रवेश गरेका हुन् । नेता थापा सहितका ३१ जनाले शनिबार राप्रपाबाट सामूहिक रुपमा राजीनामा दिएका थिए भने मंगलबार १३ जनाले कांग्रेस प्रवेश गरेका छन् । राजीनामा दिनेमा १९ जना केन्द्रीय तहका नेताहरु समेत थिए ।
हिन्दु धर्ममा शनिबारको विदाई र मंगलबारको मिलनलाई त्यति शुभ मानिँदैन । त्यसैले उनको राप्रपा त्याग र कांग्रेस प्रवेशलाई सनातन धार्मिक आस्थासँग जोडेर हेर्नेहरुले शंकाको दृष्टिले हेरिरहेका छन् । कम्युनिष्ट पार्टीका कुनै नेता तथा कार्यकर्ता नयाँ पार्टीमा प्रवेश गर्दा बार वा साइतको वेवास्ता गर्नु कुनै नौलो कुरा होइन् । किनभने कम्युनिष्टहरुको कुनै धर्म र जात हुँदैन । तर नेता थापा तीनै पार्टीका पूर्व महामन्त्री हुन् । जुन पार्टीले देशमा सनातन हिन्दु धर्मको वकालत गर्दै हिडेको थियो र अहिले पनि छ । सामान्य पूजा आराधना गर्नेदेखि सवारी साधन खरिद गर्दा, घर बनाउन जग खन्दा, नयाँ व्यापार व्यवसायको सुरुआत गर्दा, नयाँ घरमा बसाईसराई गर्दा अझ भनौँ राष्ट्रिय गौरवका आयोजनाको शिलान्यास गर्दा पनि साइत हेराउने वा निकाल्ने चलन छ ।
राप्रपा त्याग र कांग्रेस प्रवेश गर्ने तिथी एउटै भएकाले नेता थापाको जीवनमा खासै ठूलो अन्तर ल्याउन नसक्ने युवा ज्याेतिष हरिहर अधिकारी बताउँछन् । केन्द्रबिन्दु अनलाइनसँग कुराकानी गर्दै ज्याेतिष अधिकारीले भने–‘उहाँले पञ्चमी तिथीमा राप्रपा त्याग गरी अष्टमी तिथीमा कांग्रेसमा प्रवेश गर्नुभएको छ । त्यसैले राप्रपामा जुन तहमा रहनु भएको थियो अथवा जुन तहको मन्त्री हुनुभएको थियो । कांग्रेसमा पनि त्यही तहकै मन्त्री हुनुहुनेछ त्यो भन्दा माथि जाने देखिँदैन । पञ्चमी र अष्टमी तिथीको शक्ति एउटै हो ।’ नेता थापाको व्यक्तिगत ग्रहले केही तलमाथि भने हुन सक्ने ज्याेतिष अधिकारीको भनाइ छ ।
उनलाई पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले नवआगन्तुक थापासहितका नेताहरुलाई माला लगाएर हार्दिकताका साथ स्वागत गरेका थिए । उनको पार्टी प्रवेश भव्यताका साथ गरिए पनि अर्को दिनदेखि कांग्रेसभित्र असन्तुष्टिको गन्ध आइरहेको छ । विधानको व्यवस्था विपरीत देउवाले मनोमानी रूपमा पद बाँडेको भन्दै वरिष्ठ नेता पौडेल खेमाको सुरुदेखि नै असन्तुिष्ट छ । जुन असन्तुष्टि अहिले पनि निरन्तर रुपमा अगाडि बढेको छ । नेता पौडेल मंगलबार बिहानसम्म पनि थापालाई पार्टी प्रवेश गराउने कार्यक्रममा जाने वा नजाने दुविधामै थिए । तर अन्तिम समयमा उनी पार्टी प्रवेश कार्यक्रममा सहभागि भएका थिए । तर कांग्रेसका तेस्रो धार मानिने कृष्णप्रसाद सिटौला उक्त कार्यक्रममा अनुपस्थित थिए । त्यसैले तत्कालका लागि थापाको कांग्रेस यात्रा त्यति सहज देखिँदैन । पहिलो थापालाई तीन धारभित्र गिजोलिएको कांग्रेसमा कता लागेर सेफ ल्यान्डिङ गर्ने भन्नेमै अन्योलता हुनेछ । किनभने नेपाली कांग्रेस गगन थापा जस्ता क्षमतावान अझ भनौ नेपाली कांग्रेसबाटै राजनीतिमा जोडिन पुगेका नेतालाई पनि अगाडि बढ्न नदिने पार्टी हो । दोस्रो उनी पार्टी प्रवेश गरेको सात महिनामै १४ औँ महाधिवेशन दैलोमा आइपुगेको छ । नयाँ पार्टीको नयाँ वातावरणको महाधिवेशनमा होमिएर आफ्नो स्थान सुरक्षित गर्न उनलाई निकै कठिन हुने बुझ्न कुनै आइतबार पर्खिनु पर्दैन ।
पूर्व महामन्त्री सुनिल थापा राप्रपाका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । नेता थापालाई सहमहामन्त्री र अरू पाँच नेतालाई केन्द्रीय सदस्य दिएर कांग्रेसमा प्रवेश गराइएको हो । नेता थापाको कांग्रेस प्रवेशलाई राप्रपाका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजनीतिक विरासतको अन्त्य गर्ने कदमका रुपमा राप्रपाका अध्यक्ष कमल थापाले व्याख्या गरेका छन् । नेता थापालाई पिताको विचारको रक्षाका लागि राप्रपा नछाड्न उनले आग्रह समेत गरेका थिए । त्यस्तै राप्रपा नेता मोहन श्रेष्ठले पनि नेता थापालाई पिताको विरासत जोगाउनका लागि भएपनि राप्रपा छोड्न नहुने बताउँदै आएका थिए । उनले नेता थापाले राप्रपा छोड्ने निर्णयलाई पुर्नविचार गर्ने प्रति आफू पूर्ण आशावादी भएको अभिव्यक्ति दिएका थिए । तर दुवै नेताको आग्रहलाई लत्याएकाले राप्रपामा पनि उनीप्रतिको माया, ममता र स्नेह मरीसकेको छ । कालान्तरमा राप्रपाले कुनै पनि हालतमा उनलाई सहयोग गर्ने देखिँदैन । जसको मूल्य उनले धनकुटामा हुने निर्वाचनमा चुकाउनु पर्ने हुन सक्छ ।
नेता थापा एक दशक अघिदेखि नेपाली राजनीतिमा होमिएका व्यक्ति हुन् । उनले २०७० सालको निर्वाचनमा धनकुटाबाट निर्वाचन जितेका थिए । जुन निर्वाचन क्षेत्रमा उनका बाबुको विरासत जोडिएको छ । निर्वाचनमा विजयी भएसँगै उनी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा आपूर्ति तथा वाणिज्य मन्त्री बनेका थिए । राजनीतिमा लागेको छोटो अवधिमा नै सफलताको शिखर चुम्दै गरेका नेता थापाको कांग्रेस प्रवेशले तात्विक फरक नपार्ने जोतिष अधिकारीले बताए । उनी मन्त्री हुने नयाँ पार्टीमा बनाउने स्थान राप्रपामा पहिले बनाएको जस्तै पेरिफेरिमै हुने ज्याेतिष अधिकारीको भनाइ छ ।
गत फागुन २८ मा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (कमल थापा पक्ष) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी पक्ष) बीच पार्टी एकताको घोषणा गरिएको थियो । पार्टी एकता घोषणा कार्यक्रममा नेता थापा अनुपस्थित भएका थिए । पार्टी एकता गर्ने कार्यक्रमा अनुपस्थित भएसँगै उनी राप्रपा छोड्ने मनस्थितिमा पुगेको समाचार विवरणहरु सार्वजनिक भएका थिए । ती समाचार विवरणहरु सार्वजनिक भएको लामो समयपछि मात्र थापाले पार्टी प्रवेश गरेका हुन् ।





























प्रतिक्रिया