नेपालका स्पिनर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने विश्वास व्यक्त गरेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै स्पिनर लामिछानेले अहिलेको टोली सकारात्क तरिकाले अगाडि बढिरहेको बताएका हुन् । उनले केही समयअघि नेपाली टोली कठिन अवस्थामा रहेको र नयाँ प्रशिक्षको आगमनसँगै टोलीले नयाँ गति लिएको बताए ।
यही टोलीमा खेलाडी राम्रो तालमेल रहेको भन्दै उनले आगामी दिनमा नेपाली क्रिकेट राम्रो हुने प्रतिक्रिया दिए ।
सोमवार पिएनजीविरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दा नेपाल अब विश्वकप छनोट पुग्न एक कदम मात्र टाढा छ । सन्दीपले यही खेलमा ५ विकेट निकाल्दा प्लेयर अफ दि म्याच पनि घोषित भए । उनले करिअरको तेस्रो पटक ओडिआईमा तीन पटक पाँचमाथि विकेट लिएका हुन् । उनी पछिल्लोसमय उत्कृष्ट लयमा छन् ।
अर्का स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए । उनले प्रशिक्षको रणनीति अनुसार खेल्न पाउँदा आफू खुशी रहेको प्रतिक्रिया दिए ।
त्यस्तै, नेपालका लागि अर्धशतकीय पारी खेल्दै जित दिलाएका ओपनर आसिफले सहज बललाई खेल्ने र कठिन बललाई सामना मात्र गर्ने रणनीति भएपनि परिस्थिति अनुसार खेल्दा पिएनजीबिरुद्ध सहज सफलता मिलेको बताए । ओपनिङको रुपमा मैदान प्रवेश गर्दा आफ्नो मानसिकता धेरै रन बटुल्ने हुने र टिमको मनोबल उच्च बनाउने हुने गरेको उनले बताए ।
अर्का ओपनर कुशल भुर्तेलले हरेक खेल महत्वपूर्ण हुने भन्दै आफ्नै शैलीमा खेल्दा आफूलाई सफलता मिलेको बताए । प्रशिक्षकलाई कुन खेलाडीबीच कस्तो तालमेल हुने र कस्तो खेल्ने थाहा भइसकेको र सो अनुसार रणनीति बनाउने गरेको उनले बताए ।
लिग–२ अन्तर्गत अब नेपालले अन्तिम खेल युएईसँग बिहीवार खेल्नेछ । त्यसअघि बुधवार युएई र पिएनजीबीच खेल हुने तालिका छ ।































प्रतिक्रिया