‘वर्तमान समयानुकुलको व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी’ -उपाध्यक्ष श्रेष्ठ

‘वर्तमान समयानुकुलको व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी’ -उपाध्यक्ष श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन् । 

महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गरेका हुन् । उनले मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको बताए । 

उपाध्यक्ष श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको बताए । 

उनले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुक भन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताए । अबको चुनौति भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गरेको उनले बताए । 

उनले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गरे । उनले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर मेरो उम्मेद्वारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताए । 

उपाध्यक्ष श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बतए । उनले पहँुच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात प्रभाव पु-याउनेगरी काम गर्ने बताए । 

उनले महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेद्वार आफू रहेको बताए । उनले महासंघको विभिन्न उद्योग,राजश्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेकाले त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको बताए । 

उनले वरिष्ठ उपाध्यक्ष भएर काम गर्ने जिल्लादेखि केन्द्रसम्म टिम रहेको बताए । टिममा बसेर महासंघको भिजन पेपर अनुसार काम गर्नको लागि पनि वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने उनले बताए । 

उपाध्यक्ष श्रेष्ठले पछिल्लो समय बैंकको ब्याजदरको कारण व्यवसायी मर्कामा रहेको भन्दै बैंकको ब्याजदर कम गर्ने विषयमा गम्भिर भएर लाग्ने बताए । उनले बैंकको ब्याजदरको विषयमा बैंकहरुले व्यवसायीहरुको अवस्थालाई बुझ्नुपर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको भन्दै बैंकको ब्याजदर व्यवसायीहरुले धान्न सक्ने अवस्था नभएको बताए । 

उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गरेका नीतिहरुको कारणले ब्याजदर बढेको आरोप लगाए । सञ्चारकर्मीसँगको कुराकानीमा उनले पछिल्लो समय बजारमा तरलता लगायतको समस्या समान्य बन्दै जाँदा समेत ब्याजदर नघट्नेको अवस्थाले दूरी बढ्दै गएको बताए । 

उपाध्यक्ष श्रेष्ठले ४ महिनामा नै ८ प्रतिशत रहेको ब्याज १६ प्रतिशत पुग्ने तर घट्ने बेलामा समय लाग्ने गरेको भन्दै बैंक र नियमक निकायले बुझ्न आवश्यक रहेको बताए । उनले बैंक रहे मात्रै व्यवसाय र व्यवसाय रहे मात्रै बैंक बच्ने भएका भन्दै उद्योगी व्यवसायी र बैंक हातेमालो गर्न आवश्यक रहेको बताए । पछिल्लो समय बैंकसँग भन्दा पनि उधारो कारोबारको कारण उद्योगी व्यवसायीहरुबीच फाटो शुरु भएको उनले बताए ।  

उपाध्यक्ष श्रेष्ठले साना घरेलु तथा मझौला उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले महासंघले प्रमुख प्राथमिकतामा राखेर मुद्दाहरु उठाई रहेको बताए । उनले अब नेपालको अर्थतन्त्रमा साना घरेलु तथा मझौला उद्योगको २२ प्रतिशतको योगदानलाई बढाएर लैजानु आवश्यक पहल गर्ने बताए । 

उनले महासंघले कोभिड पछाडि साना घरेलु तथा मझौला उद्योगको समस्यालाई प्राथमिकताको साथ साधान गर्न सरकारसँग माग गर्दै आएको बताए । 

Logo