विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीवार यूएईलाई डकवर्थ लुइस नियमका आधारमा ९ रनले हराएर नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपकोे छनोटमा स्थान बनाइसकेको छ । यो प्रतियोगिता नेपालजस्ता एशोसिएट टिमका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा टेष्ट मान्यता पाएका टिमहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पनि हो ।
लिग–२ को चारवर्षे चक्रको अन्त्यसँगै नेपालले अर्को गन्तव्यको सुरुवात गरिसकेको छ । त्यो हो– ‘वर्ल्डकप ग्लोबल क्वालिफायर’ । विश्वकपमा पुग्ने अन्तिम ढोका अर्थात् यो ‘सेमी वल्र्डकप’ प्रतिस्पर्धा हो । जहाँ नेपालले श्रीलङ्का, दक्षिण अफ्रिका, वेष्टइन्डिज र आयरल्यान्डजस्ता टोलीको सामना गर्नुपर्नेछ । त्यसमा आयोजक जिम्बाब्वे र नेदरल्यान्ड्स त छँदैछन् । जिम्बावेमा हुने यो यात्राका लागि नेपालसँग जम्मा तीन महिनाको समय छ । यसै बीचमा टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न लायकको तयारी गर्नुपर्ने चुनौती नेपालसामु छदैँछ ।
१० टिम सम्मिलित ग्लोवल क्वालिफायरको शीर्ष दुई टिमले आउने अक्टोबर/नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्नेछन् । नेपालले एकदिवसीय विश्वकपका लागि तेस्रोपल्ट विश्वव्यापी छनोट खेल्न लागेको हो । एशोसिएट राष्ट्रहरुले टेष्ट टिमसँग खेल्ने अवसर विरलै पाउँछन् । किनभने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताको वर्गीकरण नै त्यसरी गरेको हुन्छ ।

जिम्बावे यात्रामा नेपालका लागि टेष्ट राष्ट्र र नेपाल भन्दा माथिल्लो स्तरका टिम हुने भएकोले शीर्ष दुईमा रहेर विश्वकप खेल्नु नेपालका लागि ठूलै चुनौती छ ।
नेपालले पछिल्लोपल्ट अघिल्लो संस्करणको एकदिवसीय विश्वकपअघि ग्लोवल क्वालिफायरमा टेष्ट मान्यताप्राप्त टिम जिम्बावेसँग खेलेको थियो । त्यतिबेलाको तुलनामा अहिलेको नेपालको खेल स्तर र मनोबल भिन्न छ ।
नेपालले चार वर्षपछि जिम्बावेमा पुनः टेष्ट राष्ट्रविरुद्ध आफ्नो क्षमता देखाउने अवसर पाएको छ । यतिबेला जिम्बावेमात्र होइन विश्वकप जितिसकेका अन्य टिमहरुले पनि विश्वव्यापी छनोट खेल्दैछन् । जिम्बावे यात्रामा नेपालका लागि टेष्ट राष्ट्र र नेपाल भन्दा माथिल्लो स्तरका टिम हुने भएकोले शीर्ष दुईमा रहेर विश्वकप खेल्नु नेपालका लागि ठूलै चुनौती छ । तर, ठूला टिमसँग खेल्नु युवा खेलाडीको लागि एक्पोजर र अनुभवका लागि अति महत्वपूर्ण अवसर पनि हो । विश्वकप छनोटमा यदि नेपाल आफ्नो समूहको शीर्ष तीनमा रहन सके ठूला भनिएका अन्य टोलीसँग नेपालले खेल्ने अवसर पाउनेछ ।
जिम्बावेमा हुने विश्वकप छनोटमा कूल १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । त्यसैबाट शीर्ष दुई टोली अक्टोबर–नोभेम्बरमा हुने विश्वकपका लागि छनोट हुनेछन् । भारत, न्युजिल्यान्ड, इङ्ल्यान्ड, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तान सोझै विश्वकपका लागि छनोट भइसकेका छन् ।
अब वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोली सोझै छनोट हुन बाँकी छ । ती ४ टोलीमध्ये तीन टोलीले विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । जिम्बाब्वे यात्राअघि नेपालले बलिङ कोच भित्राउनुपर्ने निकै आवश्यकता देखिएको छ । मुख्य प्रशिक्षक मोन्टी देशाई आफै ब्याटिङ स्पेयलिस्ट भएकाले नेपालले खेलेका १२ खेलमध्ये ११ खेलमा जित निकालेको थियो । तर अन्तिम खेलमा युएईले नेपालविरुद्ध ३१० रनको स्कोर दिएको थियो जुन नेपालले एक दिवसीय क्रिकेटमा पाएको सबैभन्दा ठूलो लक्ष्य पनि हो ।
छिटोभन्दा छिटो विश्वस्तरीय बलिङ कोचलाई ल्याएर नेपालको बलिङलाई कसिकसाउ गर्न आवश्यक छ ।

नेपालका लागि भरपर्दा भनिएका बलर सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झा युएईका सामु निरीह बनेका थिए । यी तिनै खेलाडीले विश्वकप लिग–२ को प्रत्येक खेलमा आफ्नो गहिरो प्रभाव छाड्दै आएका थिए । तर नेपालका अन्तिम तथा महत्वपूर्ण खेलमा मुख्य बलरहरु नै पिटिएका थिए । सोही कारण यदि नेपालले जिम्बावे यात्राबाट सुखद् नतिजा चाहन्छ भने छिटोभन्दा छिटो विश्वस्तरीय बलिङ कोचलाई ल्याएर नेपालको बलिङलाई कसिकसाउ गर्न आवश्यक छ ।
नेपालले जिम्बावे यात्रालाई सुखद बनाउन नेपालभन्दा सशक्त टोलीविरुद्ध मैत्रीपूर्ण खेलहरु धेरैभन्दा धेरै खेल्नुपर्ने आवश्यकता रहन्छ ।
यसैगरी नेपालले जिम्बावे यात्रालाई सुखद बनाउन नेपालभन्दा सशक्त टोलीविरुद्ध मैत्रीपूर्ण खेलहरु धेरैभन्दा धेरै खेल्नुपर्ने आवश्यकता रहन्छ । यसका लागि नेपाल क्रिकेट संघ(क्यान) ले पहल गर्नुपर्ने देखिन्छ । नेदरल्याण्डले भर्खरै मात्र दक्षिण अफ्रिकासँग मैत्रीपूर्ण खेल खेलेको थियो । लिग–२ कै तयारीको क्रममा युएईले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेर आएको थियो ।
यस्तै, स्कटल्यान्ड पनि केही समयपछि इङ्ल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भइसकेको छ । यदि क्यानको सहयोगमा नेपालले भारत, बंगलादेश, पाकिस्तान र इङ्ल्याण्डका टोलीसँग खेल्ने मौका पाए नेपालको जिम्बाब्वे यात्रा सुखद् बन्ने आंकलन गर्न सकिन्छ ।





























प्रतिक्रिया