बैतडीको दशरथचन्द नगरपालिका–६ शेरास्थित चमेलिया नदीमा खोज तथा उद्धार अभ्यास गरिएको छ ।
बाढीजन्य विपद्मा उद्धारका लागि पहिलोपटक उपलब्ध भएको ‘रबरबोट’ लाई परीक्षण गर्नका लागि अभ्यास गरिएको हो । तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यसहित गृह मन्त्रालयको समन्वय तथा विश्व खाद्य कार्यक्रम अन्तर्गत मानवीय सहायता स्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई गत फागुनमा ‘रबरबोट’ प्राप्त भएको थियो ।
बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा उद्धार गर्न अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।
रबरबोट परीक्षण गरी आगामी दिनमा तटीय क्षेत्रमा हुने विपद्जन्य घटनामा उद्धारका लागि सहयोग पु-याउने उद्देश्यले अभ्यास गरिएको हो ।
प्रदेशबाट आएको सशस्त्र प्रहरी बलको तालिमप्राप्त टोलीले चमेलियामा खोज तथा उद्धार अभ्यास गरेको हो ।
अभ्यासमा दशरथचन्द नगरपालिकाका प्रतिनिधि, रेडक्रस, जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीयलगायतको उपस्थिति थियो। यसका साथै जिल्ला प्रशासनलाई उपलब्ध भएको रबरबोट परीक्षणपश्चात झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीलाई हस्तान्तरण गरिएको छ ।
झुलाघाटमा रहेको सशस्त्र प्रहरीको गोताखोरको टोलीले प्रदेशबाट आएको सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले महाकालीमा खोज तथा उद्धारको तालिम लिनेछ । त्यसपछि उक्त गोताखोरको टोलीनै विपद्को बेला उद्धारमा खटिनेछ ।
रबरबोटको अभावमा नदीमा फसेकाको उद्धार गर्न यो भन्दा पहिला कठिन हुने गरेको थियो । महाकाली, चमेलियाजस्ता ठूला नदीमा विभिन्न घटना हुने तर ‘रबरबोट’ अभावमा नदी, खोलामा फसेकाको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबरबोट’ले सहयोग पुग्ने विश्वास गरिएकाे छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले विपद्जन्य घटना व्यवस्थापनका लागि उक्त क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीको मर्मत गरेर चुस्तदुरुस्त राख्न आग्रह समेत गरेको छ । यसका साथै विपद् पूर्वतयारी र प्रतिकार्य योजनासमेत बनाइएको छ ।





























प्रतिक्रिया