होटलमा ६० करोड लगानी, तीन सय जनालाई रोजगारी

होटलमा ६० करोड लगानी, तीन सय जनालाई रोजगारी

केन्द्रबिन्दु
0
Shares

आतिथ्य सेवा क्षेत्रमा लगानी गरिरहेको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

यसअघि होटल पौवाले बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट सेवा दिइरहेको छ। होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले रु १० करोडको लगानीमा पोखरामा होटल व्यवसाय सञ्चालनमा ल्याइएको बताए ।

आतिथ्य सेवामा प्रालिले हालसम्म झण्डै रु ६० करोड लगानी गरिसकेको जनाइएको छ । होटलका देशभरका शाखामा गरी तीन सय जनाभन्दा बढीले रोजगारी पाएको होटलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गरे । ‘काठमाडौँ र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौँ’, उनले भने । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आउँदो दशकभित्र होटलका एक सय शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । ‘जहाँबाट आतिथ्यको सुरुआत हुन्छ’ आदर्श वाक्यसहित होटल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो । पौवा प्रालिमा डेढ सयभन्दा बढी लगानीकर्ता जोडिएका छन् ।

‘होटलमा लगानी गर्नु चुनौतीपूर्ण छ, तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौँ’, प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपालीपनको हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटल व्यवस्थापनले जनाएको छ । पौवामा आउने जोकोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

पोखरामा खुलेको पौवाको ११औँ शाखाको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबाट औपचारिक शुभारम्भ हुने जनाइएको छ । सो अवसरमा नेपाली आतिथ्यता प्रवर्द्धन, फुड टेस्टलगायतका कार्यक्रम आयोजना गरिने भएको छ । 

Skip This
Skip This
Logo