आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् ।
सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री प्रचण्डबारे सो प्रतिक्रिया दिएका हुन् । शुक्रबार काठमाडौँमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे ।
उनले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्था अन्त्य गर्न सरकार गम्भिर हुने आशा आफूले गरेको पनि बताए । अध्यक्ष साहले भने,‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। उनले केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ । हामीले आशा राखौं–उहाँको कार्यकालमा यो चुनौतिहरुमा सुधारहोस् ,अहिले मुलुकमा पैसाको हाहाकार छ । किसान मारमा छन । प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ । जनताले धितो राखेर पनि बैंकबाट पैसा पाईराखेको छैन । उत्पादनको लागि पैसा पाईराखेको छैन । पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो ।’
अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको बताए । क्रान्तिकारीहरु एकतावद्ध भए मात्रै मुलुकमा जनताको आवश्यक्ता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि सुरु गरेको उनको भनाई थियो ।































प्रतिक्रिया