- तिलु शर्मा पौडेल
दोहा कतार ।
कोरोना भाइरसका कारण कतारका विभिन्न क्षेत्रमा लागेका प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाउने कतार सरकारको योजना अन्तर्गत तेस्रो चरणमार्फत थप केही क्षेत्रका प्रतिबन्ध आजबाट खुकुलो बनेका छन् । विभिन्न चरणमा प्रतिबन्ध खुकुलो बनाउने क्रममा आजबाट प्राथमिकतामा परेका नागरिक तथा आप्रवासी कामदारहरू कतार प्रवेश गर्न पाउने भएका छन् ।
कतारमा बन्द रहेका सम्पूर्ण सपिङ सेन्टरहरू पचास प्रतिशत खोल्न पाइने भएको छ । होलसेल मार्केटहरू तिस प्रतिशत र २ मिटरको दुरीमा टेबल राखेर होटलहरु खुल्ने भएका छन् । लामो समयदेखि बन्द रहेका ड्राइभिङ स्कुलहरू, चायल्ड केयर सेन्टर र नर्सरी क्लासहरू, आंशिक रूपमा सैलुनहरू, जिमहरू, स्विमिङ पुल, र ब्युटी पार्लर खोल्न पाइने भएको छ भने १० जना सम्म पार्कमा बस्न या भेला गर्न पाइने भएको छ ।
सीमित कामदारलाई मात्र काममा लगाउन पाइने क्षेत्रहरूमा ८० प्रतिशतसम्म कामदारलाई काम गर्न अनुमति दिइएको जानकारी सरुवा रोग तथा नियन्त्रण विभागका प्रमुख डा.अब्दुल्लातिफ अल खलले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । कोरोनाको महामारीसँगै बन्द रहेका करिब २०० मस्जिदहरू शुक्रबारको प्रार्थनाको लागि खुल्ला गरिने भएको छ ।
यसअघि पहिलो चरण अन्तर्गत १५ जुनबाट प्रार्थनाको निम्ति कतारका निश्चित मस्जिदहरू, सीमित पार्कहरू, केही जिमहरू र निजी डुङ्गाहरू सञ्चालनमा आएका थिए । दोस्रो चरण अन्तर्गत जुलाई १ देखि चरणबद्ध रूपमा १० जनासम्म जमघट तथा भेला हुन पाइने, केही रेस्टुरेन्ट र सबै पार्कहरू, सी लाइन बीचहरू, कोर्नेस र निजी पानी जहाज परिवारको लागि खुल्ला गरिएको थियो ।
यद्यपि खुकुलो पारिएका सबै क्षेत्रमा सामाजिक दुरीसहित स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी नियमहरूको अनिवार्य पालना गर्नु पर्नेछ । जनसङ्ख्याको आधारमा कतार कोरोनाको धेरै परीक्षण गर्न देश मध्येमा पर्दछ ।































प्रतिक्रिया