काठमाडौं । नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुति गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने होटल व्यवसायीहरुले बताएका छन् । सोमबार आयोजित कार्यक्रममा बोल्दै होटल व्यवसायीहरुले सो कुरा बताएका हुन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरुलाई नेपाल जाँदा कोभिडको संक्रमण छैन भन्ने प्रत्याभूति सरकारले गराउनुपर्ने बताए ।
सरकारले नेपालमा कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम गरेको सन्देश दिनसके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने शाहको भनाइ छ । त्यसका लागि पर्यटकको पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पीसीआर परीक्षण केन्द्र स्थापना गरेमा विदेशमा राम्रो सन्देश जाने र पर्यटकहरु आउन सक्ने उनको तर्क छ ।
पर्यटन क्षेत्र, होटल व्यवसाय सञ्चालनका लागि मौद्रिक नीतिमार्फत ५ प्रतिशत ब्याजदरमा वर्किङ क्यापिटल दिने कुरा आउनु सकारात्मक भएको शाहले बताए । तर सरकारले ५० अर्बको पुर्नउत्थान कोष खडा नगरेसम्म व्यवसायीले उक्त सुविधा नपाउने र कर्मचारीलाई तलब दिन र होटल सञ्चालन गर्न नसक्ने भएकाले कोषको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह समेत गरे । उनले नीति नियममा आएको कुरालाई कार्यान्वयनमा लैजान सरकार प्रस्ट रुपमा नआउँदा व्यवसायीहरुमा अन्योलता बढेको बताए ।
पर्यटन व्यवसायी सुदर्शन नेपालले ट्रेकिङ, हाइकिंङ, क्याम्पिङ ट्रेक गर्ने पर्यटकहरुलाई फोकस गरेर काम गर्ने बताए । कोभिड संक्रमणको जोखिमलाई ध्यान दिएर समूहमा आउने पर्यटकभन्दा पनि व्यक्ति र पारिवारिक पर्यटकलाई फोकस गरेर प्रवद्र्धन गरिएको उनको भनाइ छ । यो समयमा धेरै मुलुक संक्रमणको जोखिममा रहेकाले नेपाललाई खुल्ला गर्दा पर्यटकहरु आउनसक्ने सम्भावना बढी हुने उनको भनाइ छ । खासगरी चिनियाँ पर्यटकहरु नेपाल आउन सक्ने उनले बताए ।
व्यवसायीहरुले नेपालमा आउने पर्यटकका लागि सरकारले लिने शुल्कमा छुट दिनुपर्ने समेत बताएका छन् । नेपालमा आउने पर्यटकलाई कसरी कोभिडको संक्रमणबाट बचाउने भन्ने विषय महत्वपूर्ण हुनेमा व्यवसायीहरुको जोड छ ।





























प्रतिक्रिया