चैते दशैँको छैठौँ दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदैछ । छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरुले आज अर्घ्य अर्पण गर्दछन् ।
गत शुक्रवारदेखि शुरु भएको चैती छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ । मंगलवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ ।
कार्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजनहरु नभए पनि बिस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ ।
खरनाको अवसरमा व्रतालुहरुले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ । पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ्य दिने गर्दछन् ।
अघ्र्यमा मुला, उखु,भाण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अघ्र्य पश्चात रातभर व्रतालुहरु जाग्रम बसि भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ ।





























प्रतिक्रिया