राष्ट्रिय सभाका सांसदहरुले नेपाल राष्ट्रिय पुस्तकालय अव्यवस्थित बनेको र पुस्तकहरु नष्ट हुँदै गएको भन्दै सरकारले संरक्षण गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधवार बसेको बैठकमा सांसदहरुले यस्तो माग राखेका हुन् । समितिद्वारा केही दिन अघि गरिएको पुस्तकालयको अवलोकन भ्रमणमा देखिएका विषयमाथि गरेको छलफलमा अधिकांश सांसदहरुले पुस्तकालयको सुधार गरी व्यवस्थित बनाउन माग गरे । समितिले यसै साता पुस्तकालयलको अवलोकन गरेको थियो ।
पुस्तकालय अवलोकनमा पुस्तकालयको अवस्था नाजुक रहेको पाइएको सांसदहरुले बैठकमा बताए । उनीहरुले सरकारी स्वामित्वको राष्ट्रिय पुस्तकालयमा राखिएका पुराना पठन सामग्री पुस्तक तथा पत्रपत्रिकामा किरा, धमिरा, ढुसी, ओस र धुलोको कारण नष्ट हुन थालेको देखिएको बताए ।
सांसदहरुले पुस्तक तथा पत्रपत्रिकामा लागेको किरा, धमिरा, ढुसी, ओस र धुलोको कारणले रोग लाग्नसक्ने अवस्था रहेकाले सरकारले त्यसको तत्काल व्यवस्थापनका लागि काम गर्न समितिले ध्यानाकर्षण गराउनुपर्ने बताए ।
बैठकमा समिति सभापति मायाप्रसाद शर्माले पुस्तकालयका पठन सामग्री बजेट अभावका कारण अव्यवस्थित भएको भन्दै व्यवस्थापनका लागि समितिबाट बजेटको सहजीकरण गरिदिन माग आएको बताए । उनले पुस्तकालयको दराज,भवनको छत,अध्ययन कक्ष,पस्तकालयमा पुरिएर बसेका पुराना पुस्तकहरुको उत्खन्न गर्नुपर्ने देखिएको बताए ।
उनले पुस्तकालयमा देखिएका समस्या हल गरी पुस्तकालयलाई व्यवस्थित र आधुनिक बनाउन ८५ लाख बजेट माग गरिएको बताएका छन् । उनले सरकारको स्वामित्वमा रहेकाले पुस्तकालयलाई व्यवस्थित गरी बचाउन सबै मिलेर लाग्न आवश्यक रहेको बताए सभापति शर्माले राज्यको सम्पती पुस्तकालयमा रहेकाले यसको संरक्षणका लागि शिक्षा मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी बजेट व्यवस्थापनका लागि पहल गर्नुपर्ने बताए ।
उनले भूकम्पका कारण पुस्तकालयका पुस्तक सामग्री अव्यवस्थित देखिएको भन्दै पुस्तकालयको संरक्षण गर्न सबै जिम्मेवार पक्षले पहल गर्न जरुरी रहेको बताए ।
त्यस्तै छलफलमा बोल्दै सांसद तुलसाकुमारी दाहालले पुस्तकालयको समस्यामाथि तत्कालीन र दीर्घकालीन समाधानका उपाय पहिल्याएर सम्बन्धि पक्षसँग छलफल गरी सरकारले व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।
उनले पुस्तकालयमा भएको तत्काल नष्ट हुने पुस्तक,पत्रिका संरक्षण गर्न आवश्यक रहेको बताएकी छन् । त्यस्तै अर्का सांसद सुमित्रा बि.सीले पुस्तकालय व्यवस्थित बनाएर जानको लागि तत्कालिन र दीर्घकालिन योजना बनाएर जानको लागि शिक्षा मन्त्रीसँग नै छलफल गरेर जानुपर्ने बताएकी हुन् । उनले पुस्तकालयको भवन अस्थायी भएको भन्दै सकेसम्म आगामी आर्थिक वर्षमा नै भवनको लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्ने बताइन् ।
सांसद नरबहादुर बिष्टले सरकारले चाहेको खण्डमा ८५ लाख रुपैया तत्काल दिनसक्ने अवस्था रहेको बताए । उनले चार महिनाभित्र व्यवस्थित बनाउने गरी समितिले निर्देशन गर्न आवश्यक रहेको बताए ।
छलफलमा सांसद युवराज शर्माले पुस्तकालयमा बस्ने कर्मचारीले समेत पुस्तकहरु छुन सक्ने अवस्था नभएको र मुलुकको राष्ट्रिय पुस्तकालयको अवस्था व्यवस्थित हुन नसक्नु दुःखदायी भएको बताए।
समितिको छलफलमा पुस्तकालय नेपालको इतिहास, राज्यको सम्पतीका रहेकाले संरक्षण गर्नुपर्ने, तत्काल डिजिटल गर्नुपर्ने विषय माथि समितिमा छलफल भएको थियो। भूकम्पका कारण हरिहर भवनस्थित पुस्तकालय भवन भत्किएपछि अहिले सानोठिमीमा रहेको आफ्नै अस्थायी भवनबाट सेवा दिइरहेको छ।





























प्रतिक्रिया