काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिको तयारी अन्तिम चरणमा पुगेको छ । सदस्य सचिव नियुक्ति लगायतका एजेण्डामा निर्णय गर्न मन्त्रीपरिषदको बैठक आज (सोमबार) बस्दैछ ।
मन्त्रीपरिषद् बैठक साँझ ५ बजे बोलाईएको छ । बैठकले राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको तीन जनाको नामबाट एक जनालाई सदस्य सचिवमा नियुक्ति गर्ने कार्यसूचि रहेको छ ।
मन्त्रालयले मन्त्रीपरिषद्को कार्यसूचिको रुपमा तीन जनाको नाम मन्त्रीपरिषद् बैठकका लागि पेश गरिसकेको छ । प्रधानमन्त्रीको निर्देशन अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सदस्य सचिवको प्रस्तावित नाम मन्त्रीपरिषद्को बैठकको कार्यसूचिमा राखिसकेका छन् । सोमबारको बैठकले सदस्य सचिव नियुक्ति गर्दैछ ।
मन्त्रालयले गत बुधबार सिफारिस समितिले प्रस्ताव गरेका तीन जनाको नाम मन्त्रीपरिषद्का कार्यसूचिको रुपमा दर्ता गराएको थियो । लगत्तै मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सञ्चार माध्यममा सावर्जनीक गरेको थियो । सदस्य सचिव सिफारिसका लागि मन्त्रालयले सचिव नेतृत्वमा दुई बिज्ञ राखेर सिफारिस समिति गठन गरेको थियो । समितिले ७ दिने खुल्ला दर्खास्त आह्वान गर्दै इच्छुक उम्मेदवारको निवेदन माग गरेको थियो । सोही अनुसार सदस्य सचिवमा निवेदन दिएका २७ जनाको कार्ययोजना अध्ययन गर्दै सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
समितिले निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, भलिवलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिबलकै पूर्व उपाध्यक्ष लिलबहादुर थापा मगरलाई सदस्य सचिवमा सिफारिस गरेको छ ।
गत बिहिबारकै मन्त्रीपरिषद् बैठकले सदस्य सचिव नियुक्तिबारे औपचारिक निर्णय गर्ने सम्भावना रहेको थियो । तर कार्यब्यस्तताको कारण देखाउँदै प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बिहिबार राख्न सकेनन् । सोही अनुसार मन्त्रीपरिषद्को नियमित बैठक सोमबार साँझ ५ बजे राखिएको छ ।































प्रतिक्रिया