नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडि बढाउनुपर्ने बताएका छन् ।
बिहीवार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढाउनुपर्ने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुनेगरी सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा अगाडि बढ्नुपर्ने बताए ।
अध्यक्ष ओलीले पीडितलाई न्याय नदिने गरी फास्ट ट्रयाकको नाममा अगाडी बढाउन खोजिएको भन्दै त्यसो गरिएमा आफूहरुले बिरोध गर्ने बताए ।
उनले भने, ‘अहिले फास्टट्रयाक भन्ने ? फाष्टट्रयाक किन ? १८ वर्ष बित्यो । एक महिनामा हुन्छ भन्ने दुई दिनमा तपाई छलफल नै गर्न नदिइकन बहुमत छ, भनेर यसप्रकारको मजाक गर्न पाउनुहुन्छ तपाई नेपाली जनतासँग ? संसदजस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल पनि नगरीकन फास्टट्रयाक तपाईलाई अहिलेको अहिले किन चाहियो ? यसको बिरोध हुन्छ । यदी यस ढंगले, गलत ढंगले चल्न खोजियो भने सहमति हुन सक्दैन । बिरोध हुन्छ ।’
अध्यक्ष ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाउँदै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए । माओवादीहरुले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको उनको भनाई छ । उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए ।
अध्यक्ष ओलीले वर्तमान सरकारले कुनैपनि राम्रो काम गर्न नसकेको टिप्पणी पनि गरे ।





























प्रतिक्रिया