आईपीएलको १६औँ संस्करण आजदेखि सुरु

आईपीएलको १६औँ संस्करण आजदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आजदेखि सुरु हुँदैछ । यस खेलअघि उदघाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् ।

कोभिड १९ महामारीले गर्दा पछिल्ला केही संस्करण प्रभावित बन्दा सीमित भेन्युमा खेलाउनु परेको थियो । तर आईपीएलको नयाँ सिजन भने नयाँ फर्म्याटसँगै होम एण्ड अवे प्रणालीमा फर्किएको छ । 

साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच हुने उदघाटन खेलसँगै आईपीएलको नयाँ रौनक सुरु हुँदैछ । २०१९ को संस्करणपछि आईपीएल पहिलो पटक होम एण्ड अवे प्रणालीमा हुनेछ । जसले गर्दा फ्रेन्चाइज टिमदेखि समर्थक र दर्शकमा समेत उत्साह छाएको छ ।

यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका ७ः४५ बजे सुरु हुनेछ । गत सिजन डेब्युमै उपाधि जितेको गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्ने छन् ।

१० टिम सहभागी लिगमा कूल ७४ खेल हुनेछन् । हरेक टोलीले घरेलु मैदानमा खेल्न पाउने भएपछि टिमका समर्थकहरु उत्साहित छन् । यस पटक हरेक टिमले लिगमा १४ खेल खेल्नेछन्। जसमध्ये ७ खेल घरेलु मैदानमा र ७ खेल बाहिर गएर खेल्नु पर्ने छ ।

२०२२ को पछिल्लो संस्करण मुम्बई र पुनेमा आयोजना भएको थियो भने २०२१ को सुरुवाती खेल भारतमा र पछिका खेलहरु युएईमा खेलाइएको थियो । यस्तै २०२० मा भने सम्पूर्ण खेल दुबईमा भएको थियो ।

२०२२ को प्लेअफ र फाइनल खेल भने कोलकता र अहमेदावादमा पनि खेलाइएको थियो । कोभिड १९ का कारण भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पछिल्ला तीन संस्करण निकै सावधानी तरिकाले गरेको थियो ।

Logo