काठमाडौं ।
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ४७ वर्षीय राजेन्द्रकुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको ०७६ माघ २० को फैसलाले १० दिन कैद र १५ लाख ७५ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले आइतबार कलङ्कीबाट पक्राउ गरेको हो । महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी २०७५ भदौमा चेक काटेर दिएका थिए ।
उनलाई अदालतले बैकिङ कसुरजन्य अपराध गरेको ठहर गरी कैद र जरिवाना हुने फैसला गरेको सिआइवीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । महर्जनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको महाशाखाले जनाएको छ । यसैबीच अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङका कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेको महाशाखाले एक विज्ञप्ति जवारी गरी जनाएको छ । प्रहरीले विभिन्न व्यक्तिलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई उनीहरुले रु छ लाख ६० हजार ठगी गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।रासस































प्रतिक्रिया