कांग्रेस विवादः अनुशासन समिति विपक्षीलाई तह लगाउने डण्डा बन्दै

कांग्रेस विवादः अनुशासन समिति विपक्षीलाई तह लगाउने डण्डा बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालयका सचिव रामबहादुर विष्टलाई कारवाही गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नआएको र अनुशासन समितिलाई प्राप्त प्रमाण पार्टी विधान विपरीत रहेको भन्दै कारवाही गरिएको पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । तर नेता जोशीले पार्टीलाई बुझाएको १७ बुंदे स्पष्टीकरण सार्वजनिक गरेका छन् । उनको स्पष्टीकरणमा तनहुँ विवाद व्याईते र ल्याइते कांग्रेसबीचको भएको उल्लेख गरिएको छ । पाँच वर्षका लागि निष्कासनमा परेका उनले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पेश गरेको स्पष्टिकरण आइतबार सार्वजनिक गरेका हुन् । शनिबार पार्टीको अनुशासन समितिले गत चुनावमा पार्टीको हित विपरित कार्य गरेको भन्दै तीन नेतालाई निष्कासन गरेको थियो ।

जोशीले गत निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज गरिएको थियो । त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई हराउने अभियानमा लागेको आरोप थियो ।

देश र पार्टीका लागि रगत पसिना बगाउने नेताहरुको अवमूल्यन गरियो–नेता कोइराला
जोशीलगायतका तीन नेतालाई पार्टीबाट निष्कासन गरेपछि केन्द्रीय सदस्य शेखर कोइरालाले त्यसको विरोध गरेका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत नेता कोइरालाले पार्टीको निर्णयप्रति विरोध जनाएका हुन् । नेता कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशीलगायतका नेपाली कांग्रेस र देशका लागि रगत र पसिना बगाउने नेतालाई कारवाही गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं । अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो । उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ ।’

अनुशासन समिति विपक्षी तह लगाउने डण्डा बन्दै
अनुशासन समितिको काम विपक्षी र आफूसँग मन नमिल्ने नेता र कार्यकर्ता तह लगाउने डण्डा भएको पार्टीभित्रकै नेता कार्यकर्ता आरोप लगाउँछन् । शनिबार पार्टीबाट निष्कासन गरिएका नेताहरु पनि शीर्ष नेताहरुसँगको खराब सम्बन्धका कारण कारवाहीमा परेको धेरैको बुझाइ छ । ओझालाई कारवाही गर्न सभापति देउवा र जोशीलाई कारवाही गर्न पौडेल लागि परेका थिए ।

अहिलेसम्म अनुशासन समितिमा १ हजार ३ सय ७५ उजुरी परेका छन् । कारवाहीमा पर्ने अधिकांश तल्ला तहका नेता कार्यकर्ता  रहेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवार विरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णय विरुद्ध लाग्नेलाई कांग्रेसले कारवाही गर्दै आएको छ ।

समिति गठन भए यता २ सय ९९ जना कारवाहीमा परेका छन् । तर, अधिकांश उजुरीमा तल्ला तहका नेता कार्यकर्ता मात्रै कारवाहीमा परेका छन् । समितिमा आएका उजुरीमध्ये १ हजार ५२ जनालाई समितिले स्पष्टीकरण सोधेको छ । साथै, २ सय ९९ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । कारवाहीमा परेका कतिपय तल्लो तहका नेता तथा कार्यकर्ता रहेका छन् भने कतिपय शीर्ष नेताहरुसँग सुमधुर सम्बन्ध हुन नसकेका रहेका छन् । कांग्रेसले ४ चैत २०७५ मा नेता भिष्मराज आङ्दम्बेको नेतृत्वमा अनुशासन समिति स्थापना गरेको हो ।

Skip This
Skip This
Logo