नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरुको रोजाईमा नपर्ने गरेको बताएका छन् ।
मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सचिव पौडेलले यस्तो बताएका हुन् । उनले नेताहरु मन्त्री बन्नका लागि तँछाड, मछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरुको रोजाईमा पर्ने गरेको बताए ।
उनले पैसा नआउने मन्त्रालय भएका कारण पनि शिक्षा मन्त्रालय अधिकांश नेताहरुको रोजाइमा नपर्ने गरेको बताए ।
पूर्वशिक्षा मन्त्रीसमेत रहेका पौडेलले सामुदायिक शिक्षाको सुधार गर्नसके शिक्षा मन्त्रालय नेताहरुको पहिलो रोजाईमा पर्ने बताए । उनले बाटो बनाउने मन्त्रालय भन्दा नागरिक बनाउने मन्त्रालय कम प्राथमिकतामा पर्ने गरेको बताए ।
सचिव पौडेलले स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति र शिक्षकको सुधार गर्नसके सार्वजनिक विद्यालय आफैँ आकर्षणको केन्द्र बन्ने दाबी गरे । उनले संघीय शिक्षा ऐन जारी नगरेसम्म सार्वजनिक शिक्षामा सुधार गर्न नसकिने बताए ।





























प्रतिक्रिया