सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैन झैँ समाचार छापेः मन्त्री शर्मा

सञ्चारमाध्यमले कानून नै बनाउनु हुँदैन झैँ समाचार छापेः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे सञ्चारमाध्यममा प्रकाशन भएका समाचारहरुप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले मन्त्रालयमा छलफल नै नभएका विषयवस्तुहरुका बारेमा पछिल्लो समय सञ्चारमाध्यमहरुमा ठूलाठूला अक्षरमा समाचार छापिएको भन्दै असन्तोष व्यक्त गरिन् । 

उनले मन्त्रालयमा छलफल नै नभएको विषयवस्तुहरुलाई लिएर समाचार प्रकाशन एवं प्रशारण हुँदा नीति निर्माण गर्नेहरुलाई कानून नै बनाउन नहुने हो की भन्ने स्थिति आएको बताइन् । प्रक्रिया शुरु नगर्दा नै सञ्चारमाध्यमहरुले कल्पना गरेर समाचार प्रकाशन गरेको आरोप उनले लगाइन् । 

मन्त्री शर्माले कानून बनाउँदा सरकारले राष्ट्रिय हीत सर्वोपरी राखेर नै निर्माण गर्ने र कानून निर्माणको प्रक्रिया आफूलाई स्पष्ट रुपमा जानकारी रहेको पनि बताइन् । उनले अनलाइन मिडियाहरुलाई नियमन गर्नसक्ने कानून सरकारसँग नरहेको भन्दै आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन बनाउँदा सबैकुरा समेटेर निर्माण गर्ने प्रतिवद्धता जनाइन् । 

मन्त्री शर्माले सञ्चारमाध्यमहरुले कल्पना गरेर बाहिर समाचार प्रकाशन एवं प्रशारण गरेको बताइन् । उनले पछिल्लो समय समाजका हरेक क्षेत्र सकारात्मक भन्दा बढी नकारात्मक हुँदै गएको बताइन् । सञ्चारमाध्यमहरुले सकारात्मक कुराहरुलाई बाहिर नल्याएको आरोपसमेत उनले लगाइन् । 

Logo