अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक -सांसद पन्त

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक -सांसद पन्त

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पन्तले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताएका हुन् ।

सांसद पन्तले भने, “कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।” उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लामा बाघको आक्रमणबाट स्थानीयमा बढिरहेको असुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले बाघ संरक्षणबारे स्पष्ट नीति र स्थानीयको सुरक्षाको माग गरे । उनले भने, “बर्दिया जिल्लामा बाघले मान्छेलाई आक्रमण गर्नेक्रम रोकिएको छैन । वन्यजन्तु संरक्षण सुरु भएयता संरक्षणकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी चार सय ५० बढीले ज्यान गुमाइसकेका छन् ।”

Logo