ढाका प्रकरणले ततायो सदन, कुन सांसदले के भने ?

ढाका प्रकरणले ततायो सदन, कुन सांसदले के भने ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरुले प्रश्न उठाएका छन् । 

सोमवार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसद श्रेष्ठको टेलिफोन संवादको विषयमा सांसदहरुले छानबिन गर्न माग राखेका हुन् । आईतवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्ने भन्दै सांसद श्रेष्ठले दुई करोड माग गरेको अडियो सार्वजनिक भएको विषयमा सोमवारको दुवै सदनको बैठकमा सांसदहरुले उक्त विषय उठान गरेका छन् । 

अधिकांश सांसदहरुले बैठकमा सांसद श्रेष्ठलाई कारबाही गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । सांसदहरुले सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको आरोप पनि लगाएका छन् । सांसदहरुले मन्त्री बन्नको लागि घुस माग्ने सांसदलाई सरकारले त्यसै छोड्न नहुने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । 

प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको टेलिफोन संवाद छानबिन गर्न संसदीय समिति गठनको माग गरे । उनले श्रेष्ठको फोन संवाद भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै संसदले संसदीय समिति बनाएर निष्पक्ष छानबिन हुनुपर्ने दाबी गरे । 

फोन संवादमा साढे २ करोड रुपैयाँ कोर टिमलाई बुझाउनुपर्छ भनेको भन्दै कोर टिमको समेत छानबिन आवश्यक रहेको बताए । 

सांसद गुरुङले संसद सदस्यले गरेको कमिसन, भ्रष्टाचारसँग सम्बन्धित वार्तालापका सन्दर्भमा संसद चुप लागेर बस्न नहुने भन्दै संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गरे । 

त्यस्तै, बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान गठबन्धनको सरकारले सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजेको बताए । उनले गठबन्धन सरकारकै सांसदले स्वास्थ्य मन्त्री हुन मेडिकल व्यवसायीसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएसँगै सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजिएको बताए । 

उनले गठबन्धनका नेताहरुले घुस काण्डका विषयमा संसदमा जानकारी दिन माग समेत गरे । 

त्यस्तै, राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद दिलकुमारी थापा रावल (पार्वर्ती) ले दुई करोड घुस माग्ने सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन् । उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले सांसद श्रेष्ठले घुस माग गरे/नगरेको सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने बताइन् । 

उनले त्यस्ता घटना सत्य  भए/नभएको तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताइन् । 

सांसद रावलले सरकारलाई संविधान र कानूनअनुसार अघि बढ्न पनि ध्यानाकर्षण गराइन् । 

त्यस्तै, नेकपा एमालेका सांसद ऋषिकेश पाखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुगेछ भन्दै व्यङ्ग्य गरिन् । उनले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड पुग्दा अरु मालदार मन्त्रीहरुको कति होला ? भन्दै प्रश्न गरे । उनले भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करमा पर्नसक्ने चेतावनी दिए । 

त्यस्तै, राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहोराले ८७५ जना नेपालीलाई भुटानी बनाउने राजनीतिक संलग्नता ५० लाख असुल गरिएको विषयहरु बाहिर आउन नपाउँदै सांसदले २ करोड घुस मागेको अडियो बाहिर आएको बताए । उनले स्वास्थ्यमन्त्री बन्ने सांसद श्रेष्ठले व्यवसायीलाई मन्त्री बनेर अस्पताललाई दिने लेटर अफ इन्टेन शिक्षा मन्त्रालयले दिन्छ भन्ने ज्ञान समेत नभएको देखिएको बताए । 

उनले अडियो झुटो हो भने पनि झुटो नभएको भन्दै झुटो भए छानबिन गरी दुर्गा प्रसार्इंलाई कारबाही गर्नुपर्ने बताए । उनले सांसदबाट नै हुने यस्ता भ्रष्टाचारजन्य गतिविधिहरु मौलाउँदै जाने हो भने मुलुक कस्तो हुन्छ ? भन्दै प्रश्न गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टीका प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागे । उनले अडियो सार्वजनिक घटनाले प्रतिनिधि सभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा याचना गरे । 

उनले संसदको गरिमा बढाउने रास्वपाको अभियानमा अक्षुण रहने भन्दै यो घटनाले विचलित हुने नहुने बताए । उनले राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्ने बताए । अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले बताए । 
 
उनले घुस माग्ने अडियो सार्वजनिक घटना पहिलो पटक नभएको भन्दै विगतमा पनि यस्ता घटना भएको र सबैको सत्यतथ्य छानबिन हुन आवश्यक रहेको बताए । 

Logo