राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक १० गोल भएको दिन मंगलवार साविक विजेता मच्छिन्द्र फुटबल क्लवले खुमलटारमाथि ७–३ को फराकिलो जित निकालेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा मंगलवार सम्पन्न लिगको आठौं चरण अन्तर्गतको खेलमा मच्छिन्द्रलाई जित दिलाउन ओलावाले अफिजले पाँच तथा विमल घर्तीमगर र विजय भुजेलले समान एक/एक गोल गरे । खुमलटारका लिग मेसौको ओलोमोउले दुई तथा स्टेफन विनोङले एक गोल फर्काउँदै अन्तर घटाएका थिए ।
शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले अग्रता भने २५ औं मिनेटमा मात्र निकालेको थियो । अफिज ओलावालेको गोलमार्फत मच्छिन्द्रले शुरुवाती अग्रता लिएको थियो । अफिजले खुमलटारका रक्षकले गुमाएको बललाई नियन्त्रणमा लिँदै जाली चुमाउन सफल भएका थिए । त्यसको चार मिनेट पछि अफिजले नै टोलीको अग्रता दोब्बर बनाए ।
अफिजले भुटानी रोनाल्डो चेन्चो ग्याल्सेनको पासलाई खुमटारका रक्षक र गोलकिपरलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा विमलले मच्छिन्द्रको अग्रता ३–० को बनाए । पुजन उपरकोटीले हेडमार्फत उपलब्ध गराएको बललाई विमलले गोलमा परिणत गरेका थिए । चेन्चोको प्रहार खुमलटारका गोलकिपर देव लिम्बूले बचाउ गर्दा आएको रिबान्ड बललाई पुजनले हेडमार्फत विमललाई पास उपलब्ध गराएका थिए ।
एकतर्फी जस्तो देखिएको खेलको ५५ औं मिनेटमा ओलावालेले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दा मछिन्द्र ४–० ले अगाडि बढ्यो । विमलको प्रहारमा खुमलटारका रक्षक पदम भट्टराईले ह्याण्ड गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसमा ओलावालेले सहजै गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् ।
६१ औं मिनेटमा खुमलटारका ओलोमोउले गोल गर्दा खेल ४–१ को स्थितमा पुगेको थियो । ओलोमोउले विनोङको क्रसलाई नियन्त्रणमा लिँदै मच्छिन्द्रका रक्षकलाई बिट गर्दै पेनाल्टी बक्स भित्रबाट जाली चुमाउन सफल भएका थिए । ६२ औं मिनेटमा ओलावालेले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गर्दा ६७ औं मिनेटमा आन्द्रेस नियाको क्रसलाई नियन्त्रणमा लिँदै ओलावालले व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरे ।
७६ औं मिनेटमा मच्छिन्द्रका रक्षकले रेजिन सुब्बालाई फाउल गरेपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो । विनोङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ६–२ को स्थितमा ल्याए । ८१ औं मिनेटमा ओलोमोउले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ६–३ को स्थितीमा आयो । ८६ औं मिनेटमा विजय भुजेलले गोल गर्दै मच्छिन्द्रको फराकिलो जित निश्चित गरेका हुन् ।
यस जितसँगै मच्छिन्द्रले आठ खेलमा १२ अंक जोड्दा पराजय व्यहोरेको खुमलटारको समान खेलबाट ७ अंक भएको छ ।































प्रतिक्रिया