मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गरेका छन् । 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले कर्णाली खेल क्षेत्रको समेत उर्वरभूमि भएको बताए । “कर्णालीले गिनिज बुक अफ वल्र्ड रेकर्ड्स नेपालको नाम चिनाउने हरिबहादुर रोकायजस्ता ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ”, उनले भने, “उहाँको प्रेरणाले पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ ।”

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी प्रदेश सरकारले गौरवको आयोजना रङ्गशाला निर्माणको कार्यलाई तदरुकताका साथ अगाडि बढाएको मुख्यमन्त्री शर्माले बताए। ‘कर्णाली दौडिन्छ’ भन्ने मूल नारा बोकेर अगाडि बढेको प्रदेश सरकारले खेल क्षेत्रको विकास र खेलाडीको बृहत्तर हितमा काम गर्ने उनको भनाइ थियो ।

नेपाली काँगे्रस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूगोल, हावापानी र आर्थिक विपन्नताबाट गुज्रिएको कर्णालीले पछिल्लो समयमा खेल क्षेत्रमा उल्लेख्य विकास गरेको बताए।

सबै सरकारहरुले विभिन्न विधालाई प्राथमिकता दिएर भूगोल र आवश्यकताका आधारमा योजना निर्माण गरी बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले व्यक्तिभित्रको क्षमतालाई प्रस्फुटन गर्न कर्णालीमा पूर्वाधारको अभाव भएको जनाउनुभयो । यति हुँदाहुँदै पनि कर्णालीले आफ्नो पहिचान र श्रेष्ठ कायम गर्दै आएको उनको भनाइ थियो । नेता कँडेलले खेललाई व्यवस्थित र विकास गर्दै लैजान कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिए।

नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले मानव जीवनको स्वास्थ्य र समृद्ध राष्ट्रका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धाराणा व्यक्त गरे । स्वस्थ नागरिक निर्माण र राष्ट्रको गौरव बढाउन खेलाडी र युवाको प्रधान भूमिकालाई विशेष महत्वका साथ हेरिनुपर्ने उनको भनाइ थियो ।

कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोदजङ्ग हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि विभागीय मन्त्रालयको सचिव कर्णालीकै हुनुपर्नेमा जोड दिए । बाहिरबाट आउनेले कर्णाली नबुझिदिनाले यसका लागि चाहिने आवश्यक बजेट विनियोजनमा समस्या भएको उनको गुनासो थियो ।

खेलमा कीर्तिमानी धावक रोकायले ओलम्पिक टर्च बालेर मार्च पास गरे। उक्त विभिन्न विधामा सञ्चालन हुने राष्ट्रपति रनिङ् शिल्ड छनोट प्रतियोगितामा हुम्लाबाहेक नौ जिल्लाका खेलाडी र प्रशिक्षक गरेर सात सय ८४ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। आजबाट सञ्चालन भएको सो प्रतियोगिता यही वैशाख ५ गते सम्पन्न हुनेछ ।

प्रतियोगितको पहिलो दिन नौ जिल्लाका खेलाडीहरुको मार्चपास, सांस्कृतिक झाँकी, हुड्के नृत्य, सुर्खेती झ्याउरे तथा टप्पा नाचसहित मार्सल आर्टका विभिन्न विधाका खेल प्रर्दशन गरिएको थियो । 

Skip This
Skip This
Logo