प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु

प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु

केन्द्रबिन्दु
0
Shares

जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ।

फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म जारी रहने छ ।

गाउँपालिकाको केन्द्र चिसापानीस्थित खर्क खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबले विजयी यात्रा सुरुआत गरेको छ । उसले त्रियुगा स्पोर्टस क्लब गाईघाटलाई ३-१ गोलअन्तरले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

पहिलो खेलमा जन्तेढुङ्गा फुटबल क्लबका ११ नं जर्सीका खेलाडी अब्दुल्हा म्यान अफ दि म्याच घोषित भएका छन् । अब्दुल्हाले नगद रु पाँच हजारका साथमा पदक र प्रमाणपत्र प्राप्त गरेको जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिएका छन् ।

प्रतियोगिताको दोस्रो खेल आज दिउँसो २:३० बजे बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ। यस्तै प्रतियोगिताको तेस्रो खेल बुधबार दिउँसो २:३० बजे भोजपुर फुटबल सङ्घ र बेल्टार एकता क्लबबीच तथा चौथो खेल गोल बजार स्पोर्टस क्लब र भगवती स्पोर्टस् क्लबबीच बिहीबार २:३० बजे सञ्चालन हुने आयोजकले सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ ।

विभिन्न आठ समूहका खेलाडी सहभागितामा प्रथम पुरस्कार राशि नगद रु दुई लाख ५५ हजार पाँच सयको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको दोस्रो पुरस्कार नगद रु एक लाख ५५ हजार पाँच सय, ट्रफी, मेडल र प्रमाणपत्र रहेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

गोल्डकपमा सेमिफाइनल दुई टोलीले नगद रु ५०-५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिएका छन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेण्डरलाई नगद रु १०-१० हजार तथा म्यान अफ दि म्याचलाई नगद रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालन गर्न रु ३० लाख बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । गोल्डकपमा सहभागी खेलाडीका लागि खाना, बास तथा आवतजावतको व्यवस्था गरिएको जनाइएको छ ।

Skip This
Skip This
Logo