घरेलु टोली नेपालले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले ६ विकेटको जित दर्ता गरेको हो ।
टीयु क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा नेपालका युवा अलराउण्डर कुशल मल्ल र भीम सार्कीको उत्कृष्ट प्रदर्शन रह्यो । भीमले ९८ बलमा ७१ रनको अर्धशतकीय इनिङ्स खेले । कुशल ७० रनमा अविजित रहे । उनले बलमा ५ छक्का र ५ चौका प्रहार गरे ।
साथै कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए भने ओपनर कुशल भुर्तेल ३८ रन बनाए । तर, नेपालले पहिलो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो। उनी ३ बलमा १ रन बनाउँदै आउट भए ।
बलिङतर्फ मुहम्मद, रिजवान, विजय र विरनदीप सिंहले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियाे । मलेसियाका लागि कप्तान अमेद फैजले सर्वाधिक ७६ रनको अर्धशतकीय इनिङ्स खेले । साथै विरनदीप सिंहले ४६ रन जोडे भने खिजर हायदले २२ रन, स्याजरुलले २१ रन जोडे ।
बलिङतर्फ नेपालका लागि स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामीले समान ३/३ विकेट लिए । साथै स्पिनर ललित राजवंशीले २ विकेट तथा गुल्सान झाले एक विकेट लिए । सन्दीपले फैज र सिंहको शतकीय साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काएएका थिए । ५ ओभरमा पहिलो सफलता पाएको नेपालले दोस्रो विकेटका लागि ३३ ओभरसम्म कुर्नुपरेको थियो, जुन विकेट सन्दीपले दिलाएका थिए ।
याे जितसँगै समूह ए मा रहेकाे आयोजक नेपालले तालिकामा २ अंक जाेडेकाे छ । साे समूहमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । आज हङकङले पनि सिंगापुरमाथि जित दर्ता गरेकाे छ ।





























प्रतिक्रिया