काँग्रेसको उपनिर्वाचन रणनीतिः तीनै क्षेत्रका सदस्यहरुको कारवाही फुकुवा

काँग्रेसको उपनिर्वाचन रणनीतिः तीनै क्षेत्रका सदस्यहरुको कारवाही फुकुवा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले संघ, प्रदेश र स्थानीय निर्वाचनको दौरान पार्टी अनुशासन उल्लंघन गरेर कारवाहीमा परेका तनहुँ, चितवन र बाराका सबै नेता तथा कार्यकर्ताको कारवाही फुकुवा गरेको छ । 

मंगलबार नेपाली काँग्रेसका केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै आजैको मितिदेखि कारवाही फुकुवा गरेको जनाएका हुन् । 

ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वि.स. २०७४ साल र वि.स. २०७९ सालमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका र त्यस्ता वागी उम्मेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उम्मेदवारको हित विपरितका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारवाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारवाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरुको अनुशासनको कारवाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरिएको छ ।’ 

नेपाली कांँग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट केन्द्रीय अनुशासन समितिको यस निर्णय कार्यान्वयन प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानको धारा ७१ को अधिकार प्रयोग गरी पार्टी विधानको धारा ४ (१३) (ग), धारा ३४ (१) (घ) र धारा ३४ (८) (ग) र धारा ३४ (८) (ङ) को व्यवस्था निलम्वन हुने व्यहोरा समेत विज्ञप्तिमा उल्लेख छ । 

पार्टी अनुशासनको कारवाही फुकुवा भएका तनहुँ, चितवन र बारा जिल्लाका सम्पूर्णले २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन क्षेत्र नं. २ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहन समेत अनुशासन समितिले आग्रह गरेको छ । 

Logo