नेपालले एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा उपाधिको प्रमुख दावेदार नेपालले ओमानमाथि ८४ रनको सानदार जित दर्ता गरेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा नेपालले जितका लागि दिएको ३११ रनको कीर्तिमानी विशाल लक्ष्य पछ्याएको ओमानका लागि ४६.३ ओभरमा ९ विकेट गुमाएर ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि २२६ रनमा अलआउट भएको हो ।
ओमानका लागि महोमद नदिमले सर्वाधिक ६५ रन जोडे । सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे भने अन्य खेलाडी सस्तैमा समेटिए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आजको खेलमा सन्दीपले ओडिआई क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाएका छन् । उनले ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले ४२ खेलमा १०० विकेट पूरा गरे । जसमध्ये उत्कृष्ट प्रदर्शन ६–११ को छ । योसँगै सन्दीपले अफगानिस्तानका स्पिनर राशिद खानले सन् २०१८ मा ४४ खेल खेल्दै बनाएको एक सय विकेट पूरा गरेर रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रनको र्कीतिमानी योगफल बनाएको थियो । एकदिवसीय खेलमा नेपालले यसअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

र्कीतिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतकीय पारी खेले । कूल ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा १०८ रन बनाए । खेलको सुरुआत निकै खराब भए पनि मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।
दुवै ओपनर शून्य रनमा आउट भएपछि नेपालले खेलको २८औँ बलमा मात्रै खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भीम ३३ रनमा आउट भए ।
पाँचौँ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए । यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौका प्रहार गरे । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।
बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक/एक विकेट झारे ।





























प्रतिक्रिया